काठमाडौं — आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार यो कमी स्वदेशमा रोजगारीका अवसर बढेका कारण नभई पश्चिम एसियामा उत्पन्न युद्धजन्य परिस्थितिका कारण केही समय श्रम स्वीकृति प्रक्रिया प्रभावित हुँदा आएको हो।
विभागका अनुसार गत आर्थिक वर्षमा ७ लाख ९२ हजार १८७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ लाख ३९ हजार २६६ रहेको थियो। यसअनुसार एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४७ हजार ७९ ले घटेको छ।
श्रम स्वीकृति लिनेहरूमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। पुरुषको संख्या घटे पनि महिला श्रमिकको संख्या भने अघिल्लो वर्षको तुलनामा करिब एक हजारले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।
यद्यपि, विदेशिने नेपालीमध्ये दक्ष जनशक्तिको हिस्सा अझै उच्च रहेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख ८२ हजार ६४३ दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै १ हजार ९६ उच्च दक्ष र ३ हजार ५७० व्यावसायिक (प्रोफेसनल) जनशक्तिले पनि श्रम स्वीकृति लिएर विदेश प्रस्थान गरेका छन्। यसैगरी १ लाख १४ हजार ६१४ अर्धदक्ष तथा १ लाख ९० हजार २६४ अदक्ष श्रमिक पनि विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन्।
युएई पहिलो रोजाइ
गत आर्थिक वर्षमा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। पहिलो पटक श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिएर फर्किने दुवै समूहलाई समेट्दा १ लाख ८३ हजार ५८० नेपाली युएई पुगेका छन्।
युएईपछि मलेसिया दोस्रो, कतार तेस्रो र साउदी अरेबिया चौथो प्रमुख गन्तव्य बनेका छन्। मलेसियामा १ लाख ३२ हजार ६४६, कतारमा १ लाख ३२ हजार ५१ र साउदी अरेबियामा १ लाख २४ हजार ५८३ नेपाली रोजगारीका लागि गएका छन्। कुवेतका लागि पनि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।
युरोपेली मुलुकप्रति बढ्दो आकर्षण
खाडी मुलुकसँगै पछिल्ला वर्षहरूमा नेपाली श्रमिकको आकर्षण युरोपेली मुलुकतर्फ पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ। विभागका अनुसार रोमानिया सबैभन्दा धेरै नेपाली श्रमिक जाने युरोपेली मुलुक बनेको छ। गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्।
त्यसपछि जापानमा २२ हजार २६६ नेपाली रोजगारीका लागि पुगेका छन्। साथै साइप्रस, क्रोएसिया, टर्की, मौरिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड र अस्ट्रिया लगायतका मुलुकमा पनि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको विभागले जनाएको छ। एक वर्षमै साइप्रसमा ११ हजारभन्दा बढी, क्रोएसियामा ७ हजार ६६२, टर्कीमा ६ हजार ३७० र मौरिससमा ६ हजार ३३४ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार श्रम गन्तव्य विस्तार हुँदै गए पनि पश्चिम एसियाको अस्थिर सुरक्षा अवस्थाले केही समय श्रम स्वीकृति प्रक्रिया प्रभावित भएको थियो। यद्यपि, दक्ष तथा व्यावसायिक जनशक्ति विदेशिने क्रम भने निरन्तर उच्च रहेको विभागको विश्लेषण छ।
