वेलिङ्टन । न्युजिल्याण्ड सरकारले अस्थायी भिसा होल्डरका परिवार अन्तर्गत भिसा आवेदन अब उन्नत ‘इमिग्रेसन अनलाइन’ प्रणालीमार्फत अघि बढाउने भएको छ । सरकारले अस्थायी भिसाधारकका परिवारजनसम्बन्धी भिसा आवेदन प्रक्रियालाई थप प्रभावकारी, छिटो र सेवाग्राहीमैत्री बनाउन १ जुन २०२६ देखि उन्नत ‘इमिग्रेसन अनलाइन’ प्रणाली लागू गरेको जानकारी गराएको छ ।

इमिग्रेसन न्युजिल्याण्डले जारी गरेको जानकारी अनुसार अब अस्थायी भिसाधारकका परिवार सदस्यसँग सम्बन्धित नयाँ भिसा आवेदनहरू स्वचालित रूपमा नयाँ प्रणालीमार्फत दर्ता हुनेछन् । यसमा आश्रित बालबालिका विद्यार्थी भिसा, कामदार तथा विद्यार्थीका साझेदार र सन्तानका विभिन्न कार्य तथा भ्रमण भिसाहरू समावेश छन् ।

इमिग्रेसन न्युजिल्याण्डका अनुसार “आवर फ्युचर सर्भिसेस” कार्यक्रमअन्तर्गत सबै भिसा आवेदन प्रक्रियालाई क्रमशः उन्नत डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि बढाइएको हो । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थी भिसा, भिजिटर भिसा, मान्यता प्राप्त रोजगारदाता कार्य भिसा तथा स्थायी आवासीय भिसा पनि यही प्रणालीमा समावेश गरिसकिएको छ ।

नयाँ प्रणाली लागू भएसँगै भिसा आवेदन प्रक्रिया थप सरल, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ । आवेदन फाराममा स्पष्ट निर्देशन, आवेदकको अवस्थाअनुसार आवश्यक प्रश्न, स्वचालित रूपमा पासपोर्ट विवरण पढ्ने सुविधा तथा आवेदनको अवस्थाबारे नियमित जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

इमिग्रेसन न्युजिल्याण्डले ३१ मे २०२६ सम्म पुरानो प्रणालीमार्फत दर्ता भएका आवेदनहरू यथावत् प्रक्रियामा रहने पनि स्पष्ट पारेको छ । यसअघि आवेदन गरिसकेकाहरूले पुनः आवेदन दिनुपर्ने छैन। साथै, आवश्यक कागजात अपलोड गर्न र थप जानकारी उपलब्ध गराउन सक्नेछन् ।

संक्रमण अवधिमा नयाँ प्रणालीमार्फत प्राप्त आवेदनलाई प्राथमिकताका साथ मूल्याङ्कन गरिने इमिग्रेसन न्युजिल्याण्डले जनाएको छ । आवेदन प्रक्रियालाई सहज बनाउन अतिरिक्त कर्मचारीसमेत परिचालन गरिएको बताइएको छ ।

इमिग्रेसन न्युजिल्याण्डले नयाँ आवेदनहरू उन्नत ‘इमिग्रेसन अनलाइन’ प्रणालीमार्फत नै पेश गर्न आग्रह गर्दै यसले प्रशोधन समय घटाउन, ढिलाइ कम गर्न तथा सेवाग्राहीलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने जनाएको छ ।