न्युजिल्याण्डको शिक्षण प्रणालीमा माइग्रेन्ट शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताएकी छन्। उनले माइग्रेन्ट शिक्षकहरूको पाथवे टु रेसिडेन्सी प्रणाली कायम रहेको भन्दै, माइग्रेन्ट शिक्षकसँगै किवी शिक्षाको विकास र उनीहरूलाई शिक्षा क्षेत्रमा टिकाइराख्न सरकारले आगामी पाँच वर्षमा २ करोड १७ लाख डलर लगानी गर्ने निर्णय गरेको बताइन्।
शिक्षा क्षेत्रको विकासका लागि सरकारले गर्न लागेको लगानीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री स्ट्यानफोर्डले भनिन्, “न्युजिल्याण्ड सरकारले लामो समयदेखि देखिँदै आएको शिक्षक अभाव समाधान गर्न कक्षाकोठामै आधारित शिक्षक प्रशिक्षण कार्यक्रम विस्तारका लागि आगामी पाँच वर्षमा २ करोड १७ लाख डलर (NZ$21.7 million) लगानी गर्ने भएको छ। यसले नयाँ शिक्षक उत्पादनसँगै शिक्षा प्रणालीमा आफ्नो क्षमता विकास गर्न चाहने शिक्षकहरूलाई अवसर प्रदान गर्नेछ।”
सरकारले यो लगानीको केही हिस्सा शिक्षक पाउन कठिन हुने विद्यालयमा शिक्षकलाई टिकाइराख्न सञ्चालन गरिएको शिक्षक प्रोत्साहन योजना (Teacher Bonding Scheme) लाई थप सुदृढ बनाउन प्रयोग गर्ने भएको छ।
शिक्षामन्त्रीका अनुसार विद्यालयमै आधारित शिक्षक प्रशिक्षण कार्यक्रमअन्तर्गत प्रशिक्षार्थी शिक्षकहरूले औपचारिक अध्ययनसँगै हप्तामा तीन दिनसम्म विद्यालयको कक्षाकोठामै बसेर व्यावहारिक प्रशिक्षण लिन पाउनेछन्। सन् २०२४ मा १४७ स्थानबाट सुरु भएको यो कार्यक्रम सन् २०२६ मा बढाएर ५२८ स्थान पुर्याइएको छ।
सरकारले सन् २०२७ मा प्रशिक्षण स्थान संख्या बढाएर ६६० पुर्याउने र सन् २०२८ देखि हरेक वर्ष ७०४ स्थान उपलब्ध गराउने योजना बनाएको छ।
शिक्षामन्त्री स्ट्यानफोर्डले प्राथमिक र माध्यमिक दुवै तहमा शिक्षक अभाव देखिएपछि सन् २०२५ देखि प्राथमिक तहलाई पनि कार्यक्रममा समावेश गरिएको बताइन्। हाल प्राथमिक तहमा शिक्षक संख्या केही सुधार देखिएकाले आगामी दिनमा माध्यमिक तहका शिक्षक उत्पादनमा बढी ध्यान केन्द्रित गरिने उनको भनाइ छ।
उनले भविष्यमा शिक्षक अभाव भएका विशेष विषयहरूलाई लक्षित गरी प्रशिक्षण स्थान निर्धारण गर्न सकिने पनि बताइन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा शिक्षक अभाव समाधान गर्न अनलाइन माध्यमबाट समेत प्रशिक्षण सञ्चालन गर्ने व्यवस्था गरिएको छ, जसले स्थानीय समुदायमै बसेर शिक्षक बन्न चाहनेहरूलाई अवसर दिनेछ।
सन् २०२७ देखि कार्यक्रममा सहभागी हुने प्रत्येक प्रशिक्षार्थी शिक्षकले २० हजार ६६० न्युजिल्याण्ड डलर बराबरको स्टाइपेन्ड प्राप्त गर्नेछन्। यो रकम अध्ययन शुल्क र जीवनयापन खर्चमा सहयोग पुर्याउन उपलब्ध गराइनेछ।
शिक्षामन्त्री स्ट्यानफोर्डले शिक्षा समीक्षा कार्यालय (ERO) को प्रतिवेदन उद्धृत गर्दै विद्यालयका प्रधानाध्यापकहरूले हाल नयाँ शिक्षकहरूमध्ये पाँचमध्ये केवल एक जना मात्र कक्षाकोठामा पढाउन पूर्ण रूपमा तयार रहेको बताएका जानकारी दिइन्।
यसैबीच, शिक्षक अभाव भएका विद्यालयमा कार्यरत शिक्षकलाई टिकाइराख्ने शिक्षक प्रोत्साहन योजनाअन्तर्गत सरकारले थप ५० स्थान थप्ने भएको छ। यससँगै सन् २०२६/२७ मा योजनामा सहभागी शिक्षकको संख्या १८५ बाट बढेर २३५ पुग्नेछ।
यस योजनाअन्तर्गत योग्य शिक्षकहरूले शिक्षक अभाव भएका विद्यालयमा पाँच वर्षसम्म काम गरेबापत ४० हजार न्युजिल्याण्ड डलरसम्म प्राप्त गर्नेछन्।
सरकारका अनुसार विद्यालयमै आधारित शिक्षक प्रशिक्षण कार्यक्रमका लागि आवश्यक बजेट यसअघि न्युजिल्याण्डमा बसाइँ सरेर आउने प्रारम्भिक बालशिक्षा शिक्षकहरूलाई दिइँदै आएको विदेशबाट स्थानान्तरण अनुदान कार्यक्रमबाट पुनः व्यवस्थापन गरिएको हो।
