काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ। मनसुन सक्रिय रहेकाले विशेषगरी नदी तटीय क्षेत्र र साना खोलानालाको आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार सार्वजनिक गरेको बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको जलस्तर सतर्कता तहभन्दा तल रहे पनि अधिकांश नदीमा बहाव बढ्दो क्रममा रहेको छ।

महाशाखाका अनुसार आगामी तीन दिन कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायतका नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। त्यसैगरी नारायणी जलाधारका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा पनि बहाव बढ्ने अनुमान गरिएको छ।

यस्तै कर्णाली जलाधारका कर्णाली, भेरी र पश्चिम सेती नदीका साथै महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती तथा बबई नदीमा पनि जलस्तर बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

महाशाखाले काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासीलगायत जिल्लामा बहने साना नदी तथा खोलानालामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जनाएको छ।

विभागले नदी किनार तथा बाढी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नियमित रूपमा मौसम र बाढीसम्बन्धी सूचना लिन, आवश्यक पूर्वतयारी गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

महाशाखाले पहेँलो संकेत भएका क्षेत्रमा नदीको जलस्तर बढ्न सक्ने भएकाले निगरानी बढाउन, सुन्तला संकेत भएका क्षेत्रमा बाढीको जोखिम उच्च रहने भएकाले पूर्वतयारी अवस्थामा रहन तथा रातो संकेत भएका क्षेत्रमा उद्धार र सुरक्षित स्थानान्तरणको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

विभागका अनुसार साउन १९ गतेसम्म केही साना नदीमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने तथा साउन २० गतेसम्म पनि विभिन्न नदीमा जलस्तर बढ्ने सम्भावना रहेको छ। मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले पुनः आग्रह गरेको छ।