रोटोरुवा — प्रधानमन्त्री क्रिस्टोफर लक्सनले रोटोरुवामा आयोजित एक व्यावसायिक कार्यक्रममा व्यवसायीहरूलाई “परिपक्व (Adult) बन्नुपर्छ” भन्दै दिएको अभिव्यक्तिले न्युजिल्याण्डको राजनीतिक वृत्तमा विवाद सिर्जना गरेको छ। विपक्षी लेबर पार्टीले लक्सन व्यवसायीहरूको वास्तविक समस्याप्रति असंवेदनशील र जनजीवनबाट टाढा रहेको आरोप लगाएको छ भने प्रधानमन्त्री कार्यालयले भने उनको भनाइलाई गलत ढंगले व्याख्या गरिएको दाबी गरेको छ।
यो विवाद शुक्रबार रोटोरुवा बिजनेस चेम्बरले आयोजना गरेको ब्रेकफास्ट कार्यक्रममा सुरु भएको हो। कार्यक्रममा चेम्बरकी प्रमुख कार्यकारी अधिकृत मेलानी शर्टले रोटोरुवामा पछिल्लो करिब एक दशकयताकै सबैभन्दा ठूलो व्यापारिक आत्मविश्वासको गिरावट देखिएको भन्दै व्यवसायीहरूले बढ्दो लागत र घट्दो ग्राहकका कारण गम्भीर दबाब झेलिरहेको जानकारी गराएकी थिइन्।
शर्टले प्रधानमन्त्रीसमक्ष व्यवसायीहरू थप खर्च आफैंले बेहोर्न बाध्य भएको तर ग्राहकको संख्या घटेकाले त्यो खर्च उपभोक्तामाथि पनि सार्न नसकिएको बताइन्। “हामी अझ कति समयसम्म यसरी टिक्न सक्छौं?” उनले प्रश्न गरेकी थिइन्।
यसको जवाफमा प्रधानमन्त्री लक्सनले त्यो धारणा “अत्यधिक नकारात्मक” भएको टिप्पणी गर्दै सफल व्यवसायीहरूले निरन्तर परिवर्तन र नवप्रवर्तन गर्नुपर्ने बताए।
उनले भने, “यदि तपाईंले आफ्नो व्यवसायलाई नयाँ ढंगले पुनःसंरचना र आमूल परिवर्तन गरिरहनुभएको छैन भने, तपाईं आफ्नो काम सही रूपमा गरिरहनुभएको छैन।”
लक्सनले व्यवसायीहरूले आफ्नो व्यवसायलाई समयअनुसार पुनर्गठन, पुनःलगानी र नयाँ रणनीतिसहित अघि बढाउनुपर्नेमा जोड दिए। सरकारको भूमिका व्यवसाय वृद्धि गर्न अनुकूल वातावरण तयार गर्नु भएको उनको भनाइ थियो।
आफ्नो निजी क्षेत्रको अनुभव स्मरण गर्दै उनले सरकारी सहयोगको प्रतीक्षा गरेर मात्र व्यवसाय अघि नबढ्ने बताए।
“म विदेशबाट फर्केर न्युजिल्याण्ड आएपछि यहाँ अभिभावक–सन्तान (parent-child) जस्तो सोच देखेँ। धेरै बोर्डरुममा एउटै कुरा सुनिन्थ्यो— ‘सरकारले के गर्छ?’, ‘सरकारले के सोच्छ?'”
उनले थपे, “सरकारले के गर्छ वा के सोच्छ भन्नेभन्दा हाम्रो काम परिपक्व भएर आफ्ना निर्णय आफैं लिनु हो।”
लेबरको आलोचना
लेबर पार्टीकी अर्थ तथा वित्त प्रवक्ता बारबरा एडमन्ड्सले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गर्दै व्यवसायीहरूलाई उपदेश होइन, बलियो अर्थतन्त्र आवश्यक रहेको बताइन्।
उनले भनिन्, “व्यवसायीहरूले प्रधानमन्त्रीसँग अनुदान वा भाषण मागेका होइनन्। उनीहरूले राम्रोसँग चल्ने अर्थतन्त्र मागेका हुन्।”
एडमन्ड्सका अनुसार रोटोरुवाका व्यवसायीहरूले ग्राहक घटिरहेको, लागत बढिरहेको र व्यापारिक आत्मविश्वास कमजोर बन्दै गएको गुनासो गरेका थिए। तर त्यसको जवाफमा प्रधानमन्त्रीले उनीहरूलाई नकारात्मक भन्दै ‘परिपक्व बन्न’ भने।
उनले सरकारका आर्थिक नीतिका कारण व्यवसाय सञ्चालन नै जोखिममा परेको दाबी गर्दै वर्तमान सरकारले अर्थतन्त्र प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाइन्।
उनले न्युजिल्याण्डमा पछिल्लो समय व्यवसाय बन्द हुने क्रम १५ वर्षयताकै उच्च तहमा पुगेको, करिब ४० हजार थप मानिस बेरोजगार भएको तथा जीवनयापनको लागत उल्लेखनीय रूपमा बढेको दाबी गरिन्।
“साना व्यवसाय हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। उनीहरू सातै दिन मेहनत गरिरहेका छन् र अर्को वर्ष पनि व्यवसाय खुला रहन्छ कि रहँदैन भन्ने चिन्तामा छन्,” उनले भनिन्।
प्रधानमन्त्री कार्यालयको प्रतिवाद
प्रधानमन्त्री कार्यालयले भने लेबर पार्टीले लक्सनको अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरेको जनाएको छ।
कार्यालयका एक प्रवक्ताले बारबरा एडमन्ड्स र लेबर नेता क्रिस हिप्किन्सलाई अर्थतन्त्र सुधार्ने नीति प्रस्तुत गर्न ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको भनाइको गलत अर्थ लगाइएको बताए।
उनका अनुसार लक्सनले “नकारात्मक” भनेको व्यवसाय असफल हुनु अपरिहार्य हो भन्ने सोचप्रति लक्षित थियो, व्यवसायीहरूले भोगिरहेका वास्तविक कठिनाइप्रति होइन।
प्रवक्ताले “Adult-to-adult relationship” भन्ने अभिव्यक्तिको अर्थ व्यवसायीहरूलाई ‘ठूलो बन्न’ वा ‘बुद्धि पुर्याउन’ भन्नु नभई सरकार, निजी क्षेत्र र समुदायले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै आर्थिक वृद्धि र अवसर सिर्जना गर्नुपर्ने सन्देश दिनु रहेको स्पष्ट पारे।
यससँगै प्रधानमन्त्री कार्यालयले सरकारले आर्थिक वृद्धि, लगानी र निजी क्षेत्रको विस्तारका लागि आवश्यक वातावरण निर्माण गर्न निरन्तर काम गरिरहेको जनाएको छ।
