काठमाडौं, — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिँदै डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
शनिबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहले डा. कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको हो। यससँगै भेलाको व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन १६ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको नेता कोइरालाले बताए।
उनका अनुसार पार्टीलाई वैचारिक, नीतिगत तथा संगठनात्मक रूपमा अझ सबल, सक्षम र स्पष्ट कार्यदिशा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरिएको हो। उनले भेलाले पार्टीभित्र देखिएका समसामयिक चुनौती, संगठनको अवस्था तथा देशको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक परिस्थितिबारे गहन छलफल गर्ने बताए।
डा. कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले निरन्तर प्रयास, धैर्यता र पहल गरे पनि जिम्मेवार नेतृत्वबाट अपेक्षित भूमिका नदेखिएको आरोप लगाए। त्यसका कारण नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमा बढ्दो चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्नुपरेको उनको भनाइ थियो।
उनले वर्तमान अवस्थामा लोकतान्त्रिक संविधानमाथि विभिन्न कोणबाट चुनौती सिर्जना भइरहेको तथा धार्मिक र साम्प्रदायिक तनावका घटना बढ्दै गएको उल्लेख गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रत्येक राजनीतिक दलभित्र बलियो एकता आवश्यक रहेको तथा राष्ट्रिय राजनीतिक शक्तिहरूबीच सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
यसअघि नै निर्णय गरिएअनुसार कांग्रेस संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्नेछ। उक्त भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारीहरू, महासमिति सदस्य, जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
