अकल्याण्ड । न्युजिल्याण्ड नेपाली समुदायका अग्रज व्यक्तित्व तथा न्युजिल्याण्ड नेप्लिज एसोसिएसन (एनएनए) का पूर्वअध्यक्ष भोला राम श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरसँग करिब दुई वर्षदेखि संघर्षरत श्रेष्ठको गत मे २६, २०२६ मा अकल्याण्डस्थित आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठ सन् २०१३ देखि २०१५ सम्म न्युजिल्याण्ड नेप्लिज एसोसिएसनको अध्यक्ष रहनुभएको थियो। उहाँको नेतृत्वमा सन् २०१५ को विनाशकारी नेपाल भूकम्पपछि न्युजिल्याण्डमा बृहत् सहयोग अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानबाट संकलित रकम नेपाल पठाई भूकम्पपीडितको राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याइएको थियो ।

समुदायिक सेवासँगै सञ्चार क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय थियो। अकल्याण्डबाट प्रसारण हुँदै आएको नेपाली रेडियो कार्यक्रम ‘हाम्रो चौतारी’ का संस्थापक सदस्य तथा सञ्चालकमध्ये एक रहेका श्रेष्ठले कार्यक्रमको प्राविधिक तथा गुणस्तरीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सरल, मृदुभाषी, सहयोगी र मिलनसार स्वभावका कारण उहाँ अकल्याण्ड, क्राइस्टचर्चसहित न्युजिल्याण्डभरका नेपाली समुदायमा लोकप्रिय र सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । गत मे २८ मा अकल्याण्डको हेन्डर्सनस्थित मोरिसन्स फ्युनरल होममा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा न्युजिल्याण्डका विभिन्न क्षेत्रका साथै विदेशबाट समेत ठूलो संख्यामा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए ।

न्युजिल्याण्ड नेप्लिज एसोसिएसनले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले नेपाली समुदायप्रति उहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा, आमा तथा परिवारका अन्य सदस्य छन् । उहाँकी आमा हाल न्युजिल्याण्डमै रहनु भएको छ भने दुई भाइ नेपालमा रहेका छन् ।