काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसारभर छरिएर रहेका नेपाली मूलका मानिसलाई फराकिलो रूपमा समेट्ने नीति आवश्यक रहेको बताएका छन्।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख अर्यालले राष्ट्रहितलाई केन्द्रमा राखेर आवश्यक कानुन निर्माण गरिने बताएका हुन्।
भेटका क्रममा एएनओले नेपाली मूलका व्यक्तिलाई पुस्तौँसम्म सांस्कृतिक रूपमा नेपालसँग जोडिराख्ने वातावरण बनाउन पहल भइरहेको जानकारी दिएको थियो। संस्थाले नेपाली उत्पतिका व्यक्तिको परिभाषासहित कानुन निर्माणका विषयमा आफ्ना सुझाव पनि प्रस्तुत गरेको जनाएको छ।
यसैबीच एएनओका पदाधिकारीहरूले परराष्ट्र सचिव अमृत राईलाई पनि सुझावपत्र बुझाएका छन्। सचिव राईले सम्बन्धित विषयमा व्यापक छलफलका लागि मन्त्रालय तयार रहेको बताएका छन्।
