गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर समस्याको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छ।

संघका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा हाल विकसित परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा समाजमा शान्ति, सुरक्षा र आपसी विश्वास पुनःस्थापित गर्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सबै सरोकारवालाले संवाद, सहकार्य, संयम र आपसी समझदारीको मार्ग अपनाउनुपर्ने उल्लेख गरिएको छ।

एनआरएनएले नेपालको सामाजिक, धार्मिक र जातीय सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्वलाई देशको मौलिक पहिचानका रूपमा उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष, घृणा वा विभाजनकारी गतिविधिले राष्ट्र र समाजलाई कमजोर बनाउने जनाएको छ। संघले सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमार्फत एनआरएनएले घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक स्वास्थ्य सेवा र सहयोग तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ।

संघले वर्तमान परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले शान्ति, सहिष्णुता र राष्ट्रिय एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको छ।