भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि उत्साह र श्रद्धाका साथ मनाइएको छ। बिस्केट जात्राको विशेष आकर्षणका रूपमा रहेको यो जात्राले स्थानीय परम्परा, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ।
यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै पुख्र्यौली परम्परालाई निरन्तरता दिएका छन्। जात्राको दिन बोडे क्षेत्र हजारौं दर्शकले भरिएको थियो, जहाँ स्थानीय बासिन्दासँगै देश–विदेशबाट आएका सर्वसाधारणले पनि उत्साहपूर्वक अवलोकन गरेका थिए।
जात्राको क्रममा सूजनले करिब १० इन्च लामो फलामको सुइरोले आफ्नो जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए। जिब्रो छेड्नु अघि उनले स्थानीय देवीदेवताप्रति पूजा–अर्चना गर्दै आशीर्वाद लिएका थिए। जिब्रो छेडिसकेपछि उनले काँधमा ‘महाद्वीप’ बोकेर बोडे नगरका विभिन्न स्थानको परिक्रमा गरे, जुन दृश्यले उपस्थित दर्शकलाई रोमाञ्चित बनाएको थियो।
यो जात्रा केवल साहस प्रदर्शन मात्र नभई गहिरो धार्मिक आस्था र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको छ। किम्वदन्तीअनुसार बोडे क्षेत्रमा दुःख दिने नीलबाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको घटनाको सम्झनामा यो परम्परा सुरु भएको विश्वास गरिन्छ।
जात्रा सम्पन्न भएपछि जिब्रोमा छेडिएको सुइरो निकालेर त्यहाँको माटो लगाइन्छ, जसले घाउ छिट्टै निको हुने जनविश्वास रहिआएको छ।
परम्परा, आस्था र साहसको अनुपम संगमका रूपमा रहेको ‘जिब्रो छेड्ने जात्रा’ले बोडेको सांस्कृतिक पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म यसको निरन्तरता सुनिश्चित गरिरहेको छ।
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल




