अकल्याण्ड । न्युजिल्याण्डमा बसोबास गर्दै आएका नेपाली समुदायका लागि बहुप्रतिक्षित ‘नेपाल फेस्टिभल’ शनिबार एघार एप्रिलमा अकल्याण्डमा आयोजना हुँदैछ। न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा हुने यस फेस्टिभलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था न्युजिल्याण्ड नेपाल सोसाइटीले हिमाल पारिलाई जानकारी दिएको छ।
अकल्याण्डको अओटेआ स्क्वायरमा आयोजना हुने फेस्टिभलमा न्युजिल्याण्ड सरकारका उच्च अधिकारी, प्रतिपक्षी दलका नेता, मन्त्री, सांसद तथा विभिन्न समुदायका प्रतिनिधिहरुको सहभागिता रहनेछ। कार्यक्रमले नेपाली समुदाय र न्युजिल्याण्डका विभिन्न तहका प्रतिनिधिबीच सम्बन्ध अझ मजबुत बनाउनेछ।
कार्यक्रम अन्तर्गत बिहान १० बजेदेखि नेपाली परेड सुरु हुनेछ भने ११ बजेदेखि विशिष्ट व्यक्तिहरुको सहभागितामा औपचारिक कार्यक्रम अघि बढ्नेछ। सो अवसरमा न्युजिल्याण्डका सरकारी अधिकारी र नेपाली समुदायबीच अन्तरक्रिया तथा आत्मीयता साटासाट गर्ने कार्यक्रम पनि राखिएको छ।
फेस्टिभलमा नेपाली बालबालिका तथा विभिन्न कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुति रहनेछ। स्थानीय नेपाली ब्याण्डले पनि आफ्नो सङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।
कार्यक्रममा नेपाली मौलिक खानाका विभिन्न स्टलहरु रहनेछन् भने एजुकेसन कन्सल्टेन्सी लगायतका संस्थाहरुले पनि आफ्ना स्टलमार्फत सेवा तथा जानकारी प्रदान गर्नेछन्।
न्युजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष रोषण खड्काले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै सबै नेपाली तथा अन्य समुदायलाई सहभागिताका लागि आग्रह गरेका छन्। मौसमलाई ध्यानमा राख्दै आवश्यक परे छाता साथमा ल्याउन पनि आयोजकले सुझाव दिएको छ।
नेपाल फेस्टिभलले नेपाली संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्दै विविध समुदायबीच आपसी समझदारी र सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
