काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्तिमा परेर सर्वस्व गुमाएका नागरिकको आक्रोश र पीडामाथि सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानबाट तुच्छ टिप्पणी र कटाक्ष नगर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले महाविपत्तिको समयमा पीडित नागरिकले व्यक्त गर्ने आक्रोशलाई स्वाभाविक रूपमा बुझ्नुपर्ने बताए। उनले पीडितको भावनालाई लक्षित गरी हुने अपमानजनक टिप्पणी तत्काल रोक्नुपर्नेमा जोड दिए।

“यो महाविपत्तिको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,” उनले भने।

लामिछानेले विपत्तिमा परेका नागरिकमाथि दुर्व्यवहार वा साइबर बुलिङ भएको पाइए त्यसप्रति राज्यले कडा कदम चाल्नुपर्ने बताए। सरकारका तर्फबाट विज्ञप्ति जारी गर्नु मात्र पर्याप्त नहुने भन्दै पीडित नागरिकले राज्य आफ्नो पक्षमा उभिएको व्यवहारमै अनुभूति गर्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, “पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकालेर मात्रै पुग्दैन। राज्य साँच्चै पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउनुपर्छ।”

‘पीडितको आँसु पुछ्ने सदस्य चाहिन्छ’

लामिछानेले रास्वपालाई विपत्तिमा परेका नागरिकको पीडा र आक्रोशलाई होच्याउने अन्ध समर्थक आवश्यक नरहेको बताए। बरु शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिने तथा उनीहरूको आँसु पुछ्न तयार हुने सदस्य पार्टीलाई आवश्यक रहेको उनले स्पष्ट पारे।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,” लामिछानेले भने।

उनले पार्टीको कुनै पनि तहमा रहेका सदस्य वा पदाधिकारीले विपत्तिमा परेका नागरिकलाई लक्षित गरी सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने, अपमान गर्ने वा साइबर बुलिङ गर्ने कार्य गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिए।

नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न आग्रह

लामिछानेले विपत्तिका बेला नागरिकबाट व्यक्त हुने आक्रोशलाई सरकार वा राजनीतिक दलविरुद्धको व्यक्तिगत प्रहारका रूपमा नलिन पनि आग्रह गरे। उनका अनुसार सर्वस्व गुमाएका नागरिकको आक्रोश राज्यप्रतिको अपेक्षा र सहयोगको अन्तिम पुकारसमेत हुन सक्छ।

उनले पीडित नागरिकको अवस्था र मनोभावनालाई समानुभूतिका साथ बुझेर राज्यले उनीहरूको भरोसा कायम गर्नुपर्ने बताए।

लामिछानेले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे। विपक्षी दलले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन र कमजोरी सच्याउन दबाब दिन पाउने भए पनि राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउन नहुने उनको भनाइ थियो।

उनले विपत्तिको सामना गर्न राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संकटको समयमा देखिएको राष्ट्रिय एकतालाई कायम राख्नुपर्नेमा जोड दिए।