अकल्याण्ड । नेपाली संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवका रूपमा आयोजना गरिएको तीज मेला २०२६ अकल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ। हाम्रो एकता इन्कर्पोरेटेडको आयोजनामा सोमबार अकल्याण्डस्थित महात्मा गान्धी हलमा आयोजित कार्यक्रममा आठ सयभन्दा बढी नेपालीको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालबाट आएका चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति मुख्य आकर्षण बनेको थियो। दुवै कलाकारले आफ्ना चर्चित तथा लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए। उनीहरूको प्रस्तुतिमा दर्शकहरू गीत गाउँदै, नाच्दै र तीजको उत्सवमा रमाएका थिए।
खेम सेन्चुरीले आफ्ना लोकप्रिय लोक तथा तीज गीतमार्फत माहोल तताएका थिए भने समीक्षा अधिकारीले पनि आफ्ना चर्चित गीत प्रस्तुत गर्दै कार्यक्रममा थप रौनक थपेकी थिइन्। कलाकारहरूको प्रस्तुति सुरु भएसँगै दर्शकहरू उत्साहपूर्वक सहभागी भएका थिए। कलाकारहरूसँगै स्थानीय प्रतिभाहरूले समेत सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए।

तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली मौलिक संस्कृति, परम्परा र पहिरनसमेत झल्किएको थियो। महिलाहरू तीजका परम्परागत पहिरन र गहनामा सहभागी भएका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कासँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै तीजको खुसी साटेका थिए।
कार्यक्रममा अकल्याण्डबाहेक ह्यामिल्टन, टौरङ्गालगायतका स्थानबाट समेत नेपालीहरू सहभागी भएका थिए। लामो दूरी तय गरेर कार्यक्रममा सहभागी भएका दर्शकहरूको उपस्थितिले कार्यक्रमप्रति नेपाली समुदायको उत्साह र आकर्षणलाई थप उजागर गरेको थियो।
ह्यामिल्टनबाट कार्यक्रममा सहभागी हुन आएका लेखनाथ न्यौपानेले मनोरञ्जनसँगै नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य रहेकाले आफू कार्यक्रममा सहभागी भएको बताए।
‘केही रमाइलो हुने र नेपालको बाढीपीडितलाई पनि सहयोग गर्ने भनिएकाले म यो कार्यक्रममा सहभागी भएको हुँ,’ न्यौपानेले भने, ‘हामीले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्न सक्यौँ भने भोलिका दिनमा हाम्रा छोराछोरीले पनि त्यसलाई निरन्तरता दिन सक्छन्। त्यसैले यस्ता कार्यक्रमहरू गरिनुपर्छ र सकेसम्म सहभागी हुनुपर्छ भन्ने मलाई लाग्छ।’
यस वर्षको तीज मेला मनोरञ्जन र सांस्कृतिक उत्सवमा मात्र सीमित रहेन। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि कार्यक्रममा पटक–पटक अपिल गरिएको थियो। कार्यक्रम आयोजक तथा कलाकारद्वयले समेत विपत्तिमा परेका नेपाली परिवारलाई सहयोग गर्न समुदायका सदस्यहरूलाई आह्वान गरेका थिए।
हाम्रो एकता इन्कर्पोरेटेडका अध्यक्ष सौरभ बस्नेतले कार्यक्रम सोचेभन्दा पनि राम्रो र उत्साहजनक रूपमा सम्पन्न भएको बताए। उनले तीज मेला नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै समुदायबीचको एकता र आपसी सम्बन्धलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको बताए।
‘यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभई नेपालमा बाढीबाट प्रभावित परिवारको सहयोगका लागि पनि आयोजना गरिएको हो। त्यसैले यस वर्षको तीज मेलाले थप विशेष महत्व राखेको छ,’ बस्नेतले भने।
उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिन समुदायको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताए। कार्यक्रममा कलाकार, स्थानीय सांस्कृतिक समूह, स्वयंसेवक, प्रायोजक, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
तीज मेला नेपाली समुदायलाई एक ठाउँमा ल्याउने, नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने तथा विदेशमा रहेर पनि आफ्नो मौलिक पहिचानलाई निरन्तरता दिने महत्वपूर्ण अवसर बनेको आयोजकले जनाएको छ।


