क्राइस्टचर्च । क्यान्टरबरी नेप्लिज सोसाइटी इन्कर्पोरेटेड (सीएनएस)ले तीज मेला २०२६ बाट संकलित सम्पूर्ण खुद बचत रकम नेपालका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। क्राइस्टचर्चमा गत सेप्टेम्बर ५ मा आयोजना गरिएको तीज मेलाबाट बचत भएको ८ हजार ३८४.८७ न्युजिल्याण्ड डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। सोसाइटीले नेपाली रुपैयाँमा ७ लाख ४५ हजार १३१ रुपैयाँ २८ पैसा नेपाल पठाएको जनाएको छ।
क्यान्टरबरी नेप्लिज सोसाइटीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार तीज मेलाबाट २५ हजार ६९४ डलर संकलन भएकोमा कार्यक्रम सञ्चालनका लागि १७ हजार ३०९.१३ डलर खर्च भएको थियो। खर्च कटाएर बाँकी रहेको रकम नेपाल पठाइएको हो।
सोसाइटीका अध्यक्ष जीवन अर्यालले कार्यक्रमबाट प्राप्त रकम केवल आर्थिक सहयोग मात्र नभई क्यान्टरबरीमा रहेको नेपाली समुदायको एकता, करुणा र ऐक्यबद्धताको अभिव्यक्ति भएको बताए।
अध्यक्ष अर्यालका अनुसार नेपाली संस्कृति र परम्पराको उत्सवका रूपमा आयोजना गरिएको तीज मेलालाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगसँग जोडिएको थियो। कार्यक्रममा सहभागी, कलाकार, स्वयंसेवक, प्रायोजक, सहयोगी तथा समुदायका सदस्यहरूको सामूहिक योगदानले राहतका लागि सहयोग जुटाउन सम्भव भएको उनले बताए।
तीज मेला सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सोसाइटीका पूर्व अध्यक्ष दीपक पाण्डेले उनीहरूको सहयोगले सांस्कृतिक उत्सवलाई नेपालमा विपत्तिमा परेका परिवारका लागि व्यावहारिक सहयोगमा परिणत गर्न सफल भएको बताए।
हिमालपारीसँग कुरा गर्दै पाण्डेले भने, ‘सोसाइटीले मानवीय सहयोगका लागि संकलन हुने रकममा पारदर्शिता, जवाफदेहिता र जिम्मेवार आर्थिक व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत जनाएको छ। सोहीअनुसार राहत रकम सम्बन्धित आधिकारिक माध्यमबाट प्रभावित समुदायसम्म पुग्ने गरी हस्तान्तरण गरिएको छ।’
