अकल्याण्ड । हाम्रो एकता इन्कर्पोरेटेडको आयोजनामा सोमबार अकल्याण्डस्थित महात्मा गान्धी हलमा आयोजना हुन लागेको ‘तीज मेला २०२६’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

हाम्रो एकता इन्कर्पोरेटेडकी सचिव कल्पना सापकोटाका अनुसार कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको छ। न्युजिल्याण्डमा युवाहरूको नेतृत्वमा सक्रिय सामाजिक संस्थाका रूपमा रहेको हाम्रो एकता इन्कर्पोरेटेडले नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तीज मेला आयोजना गरेको हो।

कार्यक्रमका लागि नेपालबाट चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय गायिका समीक्षा अधिकारी अकल्याण्ड आइपुगेका छन्। उनीहरूको सम्मान तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिन आयोजकले आइतबार साँझ अकल्याण्डमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा विभिन्न व्यवसायमा आबद्ध व्यक्तिहरू, सामाजिक अभियन्ता, स्थानीय कलाकार तथा गायक सेन्चुरी र गायिका अधिकारीको सहभागिता थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा गायक खेम सेन्चुरीले नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोका कारण आफूहरू उत्सव मनाउने मनस्थितिमा नरहे पनि पीडितको सहयोग र राहत संकलनमा योगदान पुर्‍याउने उद्देश्यले तीज मेलामा सहभागी हुन आएको बताए।

नेपालमा विपत्तिमा परेका परिवारलाई आफ्नो सानो प्रयासले पनि सहयोग पुग्न सक्ने भएकाले कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै उनले न्युजिल्याण्डमा रहेका सम्पूर्ण नेपालीलाई तीज मेलामा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा नेपालका पूर्व वाणिज्यदूत दिनेश खड्काले पनि अकल्याण्डमा रहेका नेपाली समुदायलाई तीज मेलामा सहभागी हुँदै नेपालका बाढीपहिरो पीडितका लागि सहयोग गर्न आग्रह गरे।

news-6a9d6393b4132-001c03da-0082-4ce4-82da-25b795cff9dd.webp

तीज मेलालाई सफल बनाउन आयोजक संस्थाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कार्यक्रमसम्बन्धी नियमित जानकारी सार्वजनिक गर्दै आएको छ। साथै, अकल्याण्ड तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई प्रत्यक्ष भेटेर परिवारसहित कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरिएको आयोजकले जनाएको छ।

हाम्रो एकता इन्कर्पोरेटेडका अध्यक्ष सौरभ बस्नेतका अनुसार यस वर्षको तीज मेलालाई नेपाली संस्कृति, परम्परा, संगीत र सामुदायिक एकताको उत्सवका रूपमा भव्य रूपमा आयोजना गर्न लागिएको हो।

उनले नेपालबाट आएका खेम सेन्चुरी र समीक्षा अधिकारीको विशेष सांगीतिक प्रस्तुतिले विदेशमा रहेका नेपालीलाई केही समय भए पनि मनोरञ्जन र आफ्नो सांस्कृतिक पहिचानसँग जोडिन सहयोग पुग्ने बताए। साथै, नेपालमा विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यसमेत कार्यक्रमसँग जोडिएको उनले बताए।

news-6a9d6393b7d76-ddc082de-f6a4-4e2d-b88c-e6ba916fa4f1.webp

सेप्टेम्बर ७, २०२६ (सोमबार) साँझ ६ बजेदेखि महात्मा गान्धी हलमा हुने कार्यक्रममा सीमित टिकट मात्र बाँकी रहेको आयोजकले जनाएको छ। सामान्य प्रवेश शुल्क २५ न्युजिल्याण्ड डलर, विद्यार्थीका लागि २० डलर तथा १२ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आयोजकले अकल्याण्डमा रहेका नेपाली समुदायलाई परिवार, साथीभाइ तथा आफन्तसहित कार्यक्रममा उपस्थित भई तीज पर्वको उल्लासपूर्ण उत्सवमा सहभागी हुन सामूहिक निमन्त्रणासमेत गरेको छ।