काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। चण्डोलस्थित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनको पूर्ण कार्यतालिका सार्वजनिक गर्दै तल्लो तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १५ गतेदेखि वडा तहबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिए।

सार्वजनिक कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन तथा असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ।

त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते सातै प्रदेशको अधिवेशन गर्ने निर्णय गरिएको कुइँकेलले बताए।

तर बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशनको मिति भने परिस्थितिको मूल्यांकनपछि छुट्टै सार्वजनिक गरिने समितिले जनाएको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक विभिन्न समितिहरू गठन गर्ने पूर्ण जिम्मेवारी पनि बैठकले संयोजक कोइरालालाई दिएको छ। कोइरालाले केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्नेछन्।

यसैगरी, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघलगायत कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका तदर्थ समिति गठन गर्ने जिम्मेवारीसमेत कोइरालालाई दिइएको छ।

महाधिवेशनको तयारीसँगै कांग्रेस संस्थापन इतर समूहले पार्टीका तल्लो तहदेखि प्रदेश तहसम्मका अधिवेशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने जनाएको छ।