अकल्यान्ड । दक्षिण अकल्यान्डको विरि क्षेत्रमा रहेको एक व्यावसायिक भवनमा आगलागी भएको छ । आगलागीमा परी एक जना गम्भीर र अर्का एक जना सामान्य घाइते भएका छन् । गम्भीर घाइतेको मिडलमोर अस्पतालमा उपचार भइरहेको छ ।
आगलागी के कारणले भएको हो भन्ने विषयमा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट निस्किएको धुवाँले आसपासका क्षेत्रहरू मध्यान्हसम्म ढाकेको थियो ।
प्रहरीका अनुसार आगलागीको सूचना बिहान करिब ९ः३० बजे प्राप्त भएको थियो । सूचना पाउनासाथ विभिन्न स्थानबाट १५ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणको प्रयास गरिएको थियो ।
आगो पूर्ण रूपमा नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको जनाइएको छ ।
दमकल तथा आपतकालीन सेवा न्युजिल्याण्डले सर्वसाधारणलाई धुवाँको सम्पर्कबाट जोगिन ढोका–झ्याल बन्द गर्न, एयर कन्डिसनर बन्द गर्न तथा सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ ।
फोटो स्रोत : वन न्यूज
