काठमाडौँ। बिहानको परीक्षा। विद्यार्थीहरू अगाडि उत्तरपुस्तिका। त्यत्तिकै बेला परीक्षा सुरु भएको घण्टी बज्छ। परीक्षा निगरानी गर्न बसेका सम्बन्धित क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रश्नपत्र बाँड्न थाल्छन्। विद्यार्थीहरू प्रश्न पढ्न थालेका हुन्छन्।

यो समय केही मिनेटको मात्र हुन्छ। निरीक्षकले परीक्षा सुरु भएको घोषणा गरेको केही मिनेट मात्र भएको हुन्छ। तर बाहिर भने मोबाइलको स्क्रिनमा प्रश्नपत्र देखिन थाल्छ, र केही क्षणमै त्यसको उत्तर खोज्ने तथा पठाउने प्रयास सुरु हुन्छ।

यस्तै घटना पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) पहिलो सेमेस्टरको परीक्षामा भएको हो। यसले उक्त दिनको परीक्षालाई विवादमा तानेको छ। घटना साउन ८ गते सञ्चालन भएको परीक्षाको हो। परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमार्फत प्रश्नपत्र सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको समाचार सार्वजनिक भएका छन्।

त्रिविमा यो नयाँ घटना भने होइन। यसअघि पनि विभिन्न समयमा प्रश्नपत्र सार्वजनिक भएका थिए। त्यसरी प्रश्नपत्र सार्वजनिक भएको विषयको परीक्षा पुनः लिने गरिएको थियो।

यसरी गोप्य मानिने प्रश्नपत्र डिजिटल सञ्जालमा सहजै फैलिन थालेपछि परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस्तो घटनाले केवल एउटा परीक्षा मात्र होइन, विश्वविद्यालयको परीक्षा प्रणाली, मूल्याङ्कन प्रक्रिया र हजारौँ विद्यार्थीको मेहनतप्रतिको विश्वासमाथि नै असर पुर्‍याउँछ।

प्रश्नपत्र बाहिरिएको प्रमाण सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका हुन्। प्रारम्भिक अनुसन्धानले परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको पुष्टि गरेको छ।

शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको छ। यद्यपि प्रहरीले उनीहरूको परिचय र अनुसन्धानका विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

सार्वजनिक भएको ह्वाट्सएप स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्रको पीडीएफ फाइल पठाइएको देखिन्छ। त्यसपछि समूहका केही सदस्यहरूले प्रश्नको समाधान मागेका छन् भने सम्बन्धित व्यक्तिले समाधान पनि उपलब्ध गराउने प्रतिक्रिया दिएको देखिन्छ। करिब एक हजारभन्दा बढी सदस्य रहेको उक्त समूह एमबीएस अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमध्ये ‘सुलभ सर’ भनेर चिनिने व्यक्ति पनि रहेका छन्। घटनामा अन्य व्यक्ति वा संगठित समूहको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी छ।

यस घटनापछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पनि छुट्टै छानबिन समिति गठन गरेको छ। परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनाअनुसार प्रश्नपत्र कसरी, कहाँबाट र कसको संलग्नतामा बाहिरियो भन्ने सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य महेशराज ओझा सदस्य रहेका छन्।

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार प्रश्नपत्र चुहावट कुनै नयाँ समस्या होइन। पछिल्ला वर्षहरूमा विभिन्न तहका परीक्षामा यस्ता घटना दोहोरिँदै आएका छन्। सूचना प्रविधिको तीव्र विकाससँगै प्रश्नपत्र सुरक्षित राख्ने परम्परागत प्रणाली अब पर्याप्त नभएको उनीहरूको निष्कर्ष छ। उनीहरू परीक्षा केन्द्रदेखि प्रश्नपत्र छपाइ, ढुवानी र वितरणसम्मका सबै चरणमा डिजिटल सुरक्षा, कडा निगरानी र जवाफदेही प्रणाली आवश्यक रहेको बताउँछन्।

विद्यार्थी संगठन, अभिभावक र शिक्षाविद्हरूले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, परीक्षा प्रणालीलाई प्रविधिमैत्री र सुरक्षित बनाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा संयन्त्र लागू गर्न सरकार र त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन्।