अकल्याण्ड। न्युजिल्याण्ड सरकारले डिजिटल ड्राइभर लाइसेन्स प्रणाली लागू गर्ने तयारी थालेको छ। यो प्रणाली लागू भएपछि सवारी चालकहरूले अनिवार्य रूपमा भौतिक ड्राइभर लाइसेन्स कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुनेछ। चालकहरूले आफ्नो ड्राइभर लाइसेन्स सुरक्षित रूपमा मोबाइल फोनमा राख्न र आवश्यक पर्दा डिजिटल माध्यमबाट प्रयोग गर्न सक्नेछन्। यद्यपि, चालकहरूले चाहेमा भौतिक कार्ड पनि प्रयोग गर्न सक्नेछन्।
सरकारले यसका लागि ड्राइभर लाइसेन्सको कानुनी परिभाषा परिवर्तन गर्ने विधेयक पारित गरिसकेको भए पनि प्रणाली भने अझै लागू भएको छैन। हाल न्युजिल्याण्ड ट्रान्सपोर्ट एजेन्सी (एनजेडटीए) ले सार्वजनिक परामर्शका लागि प्रस्ताव सार्वजनिक गर्दै डिजिटल लाइसेन्स प्रणाली कसरी सञ्चालन गर्ने भन्ने प्रारम्भिक खाका प्रस्तुत गरेको हो।
प्रस्तावअनुसार प्रणाली लागू भएपछि चालकहरूले आफ्नो डिजिटल ड्राइभर लाइसेन्स एपल वालेट वा गुगल वालेटजस्ता डिजिटल वालेटमा सुरक्षित रूपमा राख्न सक्नेछन्। इन्टरनेट सेवा उपलब्ध नभएको अवस्थामा पनि डिजिटल लाइसेन्स प्रयोग गर्न सकिने व्यवस्था हुनेछ। यसमा हालको भौतिक कार्डमा हुने सबै विवरण समावेश हुनेछन् भने थप सुरक्षा सुविधासमेत रहनेछन्।
डिजिटल ड्राइभर लाइसेन्स केवल सवारी चलाउँदा मात्र नभई विभिन्न सेवामा परिचयपत्रका रूपमा पनि प्रयोग गर्न सकिनेछ। प्रहरीले लाइसेन्स जाँच गर्दा, मदिरा वा उमेर सीमा भएका वस्तु खरिद गर्दा, सरकारी तथा अनलाइन सेवामा परिचय प्रमाणित गर्न यसलाई प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ। भविष्यमा सरकारी निकाय, निजी व्यवसाय तथा अन्तर्राष्ट्रिय रूपमा पनि यसको मान्यता विस्तार गर्ने लक्ष्य रहेको छ। पहिलो चरणमा अष्ट्रेलियाले डिजिटल लाइसेन्सलाई मान्यता दिन सक्ने अपेक्षा गरिएको एनजेडटीएले जनाएको छ।
डिजिटल लाइसेन्स प्राप्त गर्न चालकले आफ्नो भौतिक ड्राइभर लाइसेन्स स्क्यान गरी अनुहार पहिचान (फेस भेरिफिकेसन) प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपछि एनजेडटीएको ड्राइभर लाइसेन्स दर्ता प्रणालीसँग विवरण मिलाएर सबै जानकारी प्रमाणित भएपछि सुरक्षित डिजिटल प्रमाण प्रयोगकर्ताको मोबाइल वालेटमा उपलब्ध गराइनेछ।
प्रहरीले लाइसेन्स जाँच गर्दा चालकले आफ्नो मोबाइलमा रहेको डिजिटल लाइसेन्स देखाउनुपर्नेछ। मोबाइल प्रहरीलाई बुझाउनुपर्ने छैन। क्युआर (QR) कोड वा सम्पर्कविहीन (कन्ट्याक्टलेस) प्रविधिमार्फत लाइसेन्सको वैधता पुष्टि गरिनेछ। स्क्रिनसट, फोटो वा सुरक्षित गरिएको प्रतिलाई भने वैध लाइसेन्सका रूपमा स्वीकार गरिने छैन।
एनजेडटीएका अनुसार डिजिटल लाइसेन्समा प्रयोगकर्ताको व्यक्तिगत विवरण सुरक्षित राख्न पिन (PIN), फेस आइडी (Face ID), फिङ्गरप्रिन्ट तथा इन्क्रिप्सन (Encryption) जस्ता आधुनिक सुरक्षा प्रविधि प्रयोग गरिनेछ। यस प्रणालीको अर्को विशेषता ‘सेलेक्टिभ सेयरिङ’ हुनेछ, जसअनुसार आवश्यक परेको जानकारी मात्र देखाउन सकिनेछ। उदाहरणका लागि, उमेर प्रमाणित गर्न पूरा जन्ममिति देखाउनुपर्ने आवश्यकता रहने छैन।
एजेन्सीले प्रणाली पूर्ण रूपमा लागू गर्नुअघि गोपनीयता तथा सुरक्षा जोखिमसम्बन्धी विस्तृत अध्ययन गरिरहेको जनाएको छ। यसका लागि प्राइभेसी कमिस्नरसँग पनि सहकार्य भइरहेको छ।
डिजिटल ड्राइभर लाइसेन्ससँगै भविष्यमा वफ (Warrant of Fitness) र रेजो (Vehicle Registration) पनि डिजिटल रूपमा प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ। यसपछि गाडीको सिसामा वफ वा रेजोको स्टिकर टाँस्नुपर्ने बाध्यता हट्न सक्नेछ। प्रहरी तथा सम्बन्धित निकायले गाडीको नम्बर प्लेट प्रणालीमार्फत सिधै गाडीको कानुनी अवस्था जाँच गर्न सक्ने व्यवस्था गरिनेछ।
हाल सार्वजनिक सुझाव संकलनको चरणमा रहेकाले यो प्रणाली तत्काल लागू हुने छैन। प्राप्त सुझावका आधारमा अन्तिम नियमावली तयार गरी चरणबद्ध रूपमा डिजिटल ड्राइभर लाइसेन्स लागू गरिने एनजेडटीएले जनाएको छ।
