न्युजिल्याण्डमा आगामी दुई वर्षसम्म घरजग्गाको मूल्य वृद्धिमा खासै ठूलो परिवर्तन नआउने सरकारको पूर्वानुमान छ । कोषालयले अधिकतम ७ प्रतिशतसम्म मात्र मूल्य वृद्धि हुन सक्ने अनुमान गरेको छ । सरकारले सार्वजनिक गरेको अर्ध–वार्षिक आर्थिक तथा वित्तीय अद्यावधिक (एचवाईइएफयु) प्रतिवेदनअनुसार आगामी दुई वर्षमा घरको मूल्य वृद्धिदर पहिले अनुमान गरिएभन्दा सुस्त रहने देखिएको छ ।
प्रतिवेदनअनुसार २०२६ जुन ३० मा समाप्त हुने आर्थिक वर्षमा घर मूल्य वृद्धिदर १.९ प्रतिशत मात्र रहने अनुमान गरिएको छ, जुन गत मे महिनामा प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको ५.६ प्रतिशतको पूर्वानुमानभन्दा ३.७ प्रतिशतले कम हो । २०२७ मा घरको मूल्य ६.६ प्रतिशतले बढ्ने र २०२८ मा ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन पूर्वानुमान अवधिमा सबैभन्दा उच्च वृद्धिदर हो ।
यसैगरी २०२९ मा घरको मूल्य ६.६ प्रतिशत र २०३० मा ६.८ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यी दरहरू सन् २०२१ मा देखिएको अत्यधिक वृद्धिदरको तुलनामा निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ मा न्यून ब्याजदर र कोभिड–१९ महामारीका आर्थिक प्रभावका कारण घरको मूल्य २९.६ प्रतिशतले बढेको थियो ।
वित्तमन्त्री निकोला विलिसले घरको मूल्यमा “मध्यम” वृद्धिलाई प्राथमिकता दिइने र न्युजिल्याण्डवासीका लागि किफायती तथा भरपर्दो आवास सुनिश्चित गर्नु सरकारको उद्देश्य रहेको बताइन् । उनले बजारको उच्च विन्दुमा ऋण लिएर घर किनेका तथा हाल नकारात्मक इक्विटीमा परेका घरधनीहरूको अवस्थालाई पनि सरकारले ध्यानमा राखेको उल्लेख गरिन् ।
