अकल्याण्ड। अष्ट्रेलियाको एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट २०२७ हुने भएको छ। ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायबीच खेलकुद, मित्रता र सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको ओसियाना नेपाली स्पोर्ट्स मिटको घोषणा भएसँगै प्रतियोगिताको तयारी पनि तीव्र बन्दै गएको छ।

आगामी मार्च २०२७ मा दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुने प्रतियोगिताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजक समितिले प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो।

न्युजिल्याण्ड, अष्ट्रेलिया तथा ओसियानाका विभिन्न देशबाट नेपाली खेलाडी, प्रशिक्षक, खेलप्रेमी र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने प्रतियोगिता २५ मार्च २०२७ मा सुरु भएर २८ मार्च मा सम्पन्न हुनेछ। साथै, २८ मार्च मा पुरस्कार वितरण तथा समापन कार्यक्रम हुनेछ।

ओसियाना नेपाली स्पोर्ट्स मिटका संरक्षक केश गुरुङले हिमालपारीलाई दिएको जानकारीअनुसार प्रतियोगिता सुरु हुनुअघि सहभागी टोली र समुदायबीच आपसी परिचय तथा सम्बन्ध सुदृढ गर्ने उद्देश्यले वेलकम नाइट, खेलाडी भेटघाट, सांस्कृतिक अन्तरक्रिया, युवा नेटवर्किङ कार्यक्रम, स्वयंसेवक अभिमुखीकरण तथा टिम म्यानेजर समन्वय बैठक आयोजना गरिनेछ। यसले प्रतियोगिताको वातावरणलाई थप उत्साहपूर्ण बनाउनुका साथै विभिन्न देशबाट आएका नेपालीहरूबीच सहकार्य र मित्रता विस्तार गर्ने विश्वास गरिएको छ।

प्रतियोगितामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, ट्र्याक एन्ड फिल्ड, बास्केटबल, स्विमिङ, गल्फ र भलिबल गरी कम्तीमा १० विधामा प्रतिस्पर्धा हुनेछ। साथै, संरक्षक गुरुङका अनुसार सबै खेलहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिनुका साथै अनुभवी प्राविधिक टोली परिचालन गरिनेछ।

ब्याडमिन्टनका कुशल खेलाडीसमेत रहेका संरक्षक गुरुङले दिएको जानकारीअनुसार ओसियाना नेपाली स्पोर्ट्स मिट केवल खेलकुद प्रतियोगिता मात्र नभई विदेशमा रहेका नेपालीहरूको साझा पहिचान, संस्कृति र एकताको उत्सवका रूपमा परिचित हुँदै आएको छ। “युनाइटेड बाइ हेरिटेज, इन्स्पायर्ड बाइ स्पोर्ट” (सम्पदाले एकताबद्ध, खेलकुदबाट प्रेरित) भन्ने नारासहित हुने कार्यक्रमले नेपाली युवामा स्वस्थ प्रतिस्पर्धा, नेतृत्व विकास र सामुदायिक सहभागिता बढाउने उद्देश्य राखेको आयोजकको भनाइ छ।

प्रतियोगिताका लागि विभिन्न देशमा प्रारम्भिक खेलाडी छनोट, दर्ता प्रक्रिया र टोली गठनको तयारी सुरु भइसकेको छ। एडिलेडस्थित नेपाली समुदायले पनि खेलस्थल, आवास, यातायात र आतिथ्य व्यवस्थापनका लागि व्यापक तयारी थालेको गुरुङले जानकारी दिए।

साथै, उनले ओसियानाभर रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी भई नेपाली खेलकुद र सांस्कृतिक उत्सवलाई भव्य बनाउन आग्रह गरेका छन्। प्रतियोगितालाई सफल बनाउन विभिन्न तवरबाट सहयोग गर्न पनि सम्पूर्ण नेपाली समुदायमा आयोजक समितिको तर्फबाट गुरुङले अपिल गरेका छन्।