अष्ट्रेलिया। अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यको राजधानी एडिलेडमा सन् २०२७ मा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटलाई सफल बनाउनका लागि अध्यक्षमा विजय जोशीको नेतृत्वमा ओसियाना कोअर्डिनेसन कमिटी गठन भएको छ।

ओसियाना क्षेत्रकै सबैभन्दा ठूलो नेपाली खेलकुद महोत्सवका रूपमा लिइने स्पोर्ट्स मिट प्रतियोगिता सफल बनाउन अष्ट्रेलियाका विभिन्न राज्य, टेरिटोरी तथा न्युजिल्याण्डका प्रतिनिधिहरू समेटेर समिति गठन गरिएको हो। क्रिकेट अष्ट्रेलियाका मल्टिकल्चरल एम्बेसडर समेत रहनुभएका जोशीको नेतृत्वमा गठित समितिले प्रतियोगिताको रणनीतिक योजना, समन्वय, व्यवस्थापन तथा तयारीलगायतका कार्य गर्नेछ।

समितिका उपाध्यक्षहरूमा अजय क्षेत्री (न्यु साउथ वेल्स), भैरव लिम्बू (भिक्टोरिया), सुरज पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी), चन्द्रप्रकाश गुरुङ (नर्दन टेरिटोरी), प्रसुनकुमार उपाध्याय (क्विन्सल्यान्ड), उमेश थापा (वेस्टर्न अष्ट्रेलिया), हरी गौतम (तास्मानिया) तथा बाल तिमिल्सिना (न्युजिल्याण्ड) रहेका छन्। त्यसैगरी सन्तोष अधिकारी सचिव, दीपेशराज पाण्डे कोषाध्यक्ष, दिप्सन खड्का वित्तीय संयोजक (फाइनान्सियल कोअर्डिनेटर) तथा विष्णु हमाल पब्लिक अफिसरको जिम्मेवारीमा चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा प्रमिला थापा (न्यु साउथ वेल्स), महेश श्रेष्ठ (भिक्टोरिया), राममणि भुसाल (नर्दन टेरिटोरी), शरण भट्ट (क्विन्सल्यान्ड), सुमित पौडेल (एसीटी), प्रदीप महर्जन (वेस्टर्न अष्ट्रेलिया), सुजित रेग्मी (तास्मानिया) तथा सुबोध ढकाल (न्युजिल्याण्ड) रहेका छन्। बालगोपाल उपाध्याय मिडिया संयोजक, नविन पन्त डकुमेन्ट कन्ट्रोलर, सन्तोषी गौतम लजिस्टिक्स संयोजक, पुष्कर कोइराला इभेन्ट म्यानेजमेन्ट संयोजक, मधुकर पौडेल आईसीटी सपोर्ट संयोजक, सीमा गुरुङ सांस्कृतिक संयोजक, शबा डीसी न्यौपाने प्रवर्द्धन (प्रमोसन) संयोजक, थिर गुरुङ खेलकुद संयोजक तथा रक्षा शुक्लालाई मेडिकल संयोजकको जिम्मेवारी तोकिएको छ।

नवनियुक्त अध्यक्ष विजय जोशीले ओसियाना नेपाली स्पोर्ट्स मिट केवल खेलकुद प्रतियोगिता मात्र नभई अष्ट्रेलिया र न्युजिल्याण्डसहित ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने महत्वपूर्ण अभियान भएको बताए। उनले प्रतियोगिताले नेपाली युवामा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिसर्धा, नेतृत्व क्षमता, सामुदायिक सहकार्य तथा आपसी भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै सबै राज्य, टेरिटोरी र न्युजिल्याण्डसँग निरन्तर समन्वय गर्दै प्रतियोगितालाई ऐतिहासिक, समावेशी, व्यवस्थित र भव्य बनाइने प्रतिबद्धता जनाउँदै सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघसंस्था, खेलाडी, स्वयंसेवक तथा शुभेच्छुकलाई महोत्सव सफल बनाउन साथ दिन आग्रह समेत गरे। खेलकुद प्रतियोगितामात्र नभई ओसियाना क्षेत्रमा रहेका नेपालीहरूको साझा उत्सवका रूपमा लिने गरिएको छ।