अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ रंगशालाको प्यारापिटबाट दसौं हजार दर्शकले उनलाई हेरिरहेका थिए। संसारभरका अर्बौं मानिसको नजर पनि उनीमाथि नै थियो। तर पनि लियोनेल मेसी त्यो क्षणमा एक्ला देखिन्थे।
विश्वकप फाइनलको अन्तिम सिटी बज्नासाथ स्पेनको टोली बेन्चबाट मैदानतिर उत्सव मनाउन दौडियो। मेसी भने पराजित र निशब्द भएर मैदानमै बसिरहे। सिटी बज्नेबित्तिकै क्यामरापर्सन र फोटोग्राफरहरू उनलाई घेर्न पुगिसकेका थिए। अर्जेन्टिनाले गोल गर्न नसकेको पोस्टतर्फ उनी टोल्हाइरहेका दृश्य क्यामरामा कैद भए।
त्यसपछि अत्यन्तै दुःखी मुद्रामा मेसी भुइँमा बसे। उनले एडिडासले आफ्ना लागि विशेष रूपमा तयार पारेको ‘लास्ट ट्याङ्गो’ नामको बुट फुकाले। स्टेडियमभरि समर्थकहरूको ठूलो होहल्ला र भिड भए पनि मेसीका लागि भने संगीत रोकिइसकेको थियो। उनको विश्वकप यात्रा सम्भवतः समाप्त भइसकेको थियो।
आफ्नो दोस्रो विश्वकप ट्रफी जित्ने सपना अधुरो रहेपछि मेसी निराश हुँदै टाढाको दृश्यतिर हेरिरहेका थिए। उनीहरूको यो अन्तिम यात्राको शैली पूर्ण रूपमा अर्जेन्टिनी ढाँचाको थियो।
नकआउट चरण सुरू भएदेखि नै अर्जेन्टिनाको प्रत्येक पाइलामा प्रतियोगिताबाट बाहिरिने खतरा मडारिइरहेको थियो। विगत ६ सातादेखि नै ‘कतै यो नै अन्तिम त होइन?’ भन्ने महसुस भइरहेको थियो।

केप भर्डेविरूद्ध सिड्नी काब्रालले बराबरी गोल फर्काउँदा होस्, इजिप्टविरूद्ध १० मिनेट बाँकी छँदा टोली २-० ले पछाडि पर्दा होस्, वा १० जनामा सीमित स्विट्जरल्यान्डले खेललाई अतिरिक्त समयमा धकेल्दा होस् — हरेक पटक अर्जेन्टिना विश्वकपबाट बाहिरिने र फेरि नाटकीय रूपमा खेलमा फर्किने गरिरहेको थियो।
टोली र कप्तान सधैं पराजयको नजिक पुग्थे र फेरि सम्हालिन्थे। क्यान्सस सिटी, मायामी, एटलान्टा र न्यूयोर्कका खेलहरूमा उपस्थित हुनु भनेको मेसीको यो मञ्चबाट हुने बिदाइलाई प्रत्यक्ष महसुस गर्नु जस्तै थियो।
खेल सकिएपछि मेसीकहाँ पुग्ने पहिलो खेलाडी फेरान टोरेस थिए, जो खेलका निर्णायक बनेका थिए। अर्कातर्फ, मेसीलाई सान्त्वना दिनुको सट्टा उनका अर्जेन्टिनी टोलीका साथीहरू मैदानमै झगडामा अल्झिरहेका थिए। लेआन्द्रो पारेडेस त्यस विवादको केन्द्रमा थिए।
अझ एन्जो फर्नान्डेजले रातो कार्ड पाएर मैदान छाडेपछि थकित बनेको टोली यस प्रतियोगितामा तेस्रो पटक अतिरिक्त समय खेल्न बाध्य भएको थियो। अर्जेन्टिनाका लागि आफ्नो जर्सीमा चौथो तारा थप्ने अवसर गुमेपछि प्रशिक्षक लियोनेल स्कालोनीले भने, ‘आज फुटबलको हिसाबले हामी उनीहरूसँग प्रतिस्पर्धा गर्नै सकेनौं।’
खेलको सुरूआती १५ मिनेटमा मेसीले केवल एक पटक मात्र बल छुन पाएका थिए। सामान्य समयको अन्तिम मिनेटमा बाहेक स्पेनका गोलकिपर उनाई सिमोनले कुनै ठूलो बचाउ नै गर्नुपरेको थिएन। अर्जेन्टिनाले बलमा नियन्त्रण बनाउनै सकेन। नतिजास्वरूप, दर्शकदीर्घमा १० नम्बरको जर्सी लगाएर बसेका हजारौं समर्थक जस्तै मेसी पनि मैदानमा हेरेका हेर्यै बने।
खेल सकिएपछि जब रोड्री ‘प्लेयर अफ दि टुर्नामेन्ट’ (प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोल्डेन बल) को पुरस्कार लिन मञ्चमा गए, तब स्टेडियममा ‘मे-स्सी, मे-स्सी!’ को नारा गुञ्जियो। समर्थकहरू निराशाबीच पनि आफ्नो कप्तानको समर्थन गरिरहेका थिए।

त्यसपछि मेसीले आफ्नो टोलीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट उपविजेताको पदक ग्रहण गरे। त्यसपछि उनी कहाँ जाने भन्ने दिशाहीन जस्तै देखिए — ३९ वर्षको उमेरमा अब अगाडि के गर्ने भन्ने सोचमा परेजस्तै।
स्पेनले विश्वकप ट्रफी उचाल्दा मेसी र अर्जेन्टिना टोलीले भने उनीतर्फ पीठ फर्काएका थिए। उनीहरू आफ्ना समर्थकहरूतर्फ फर्किए र मेसीका आँखाबाट आँसु खसे। यो खेलभरि सन् १९९० को विश्वकप फाइनलको सम्झना भइरह्यो। त्यतिबेला पनि अर्जेन्टिना डिफेन्डिङ च्याम्पियनका रूपमा मैदानमा ओर्लेको थियो र पश्चिम जर्मनीविरुद्ध एउटा पनि सीधा प्रहार गर्न नसकी अतिरिक्त समयको पर्खाइमा थियो।
८५औं मिनेटमा आन्द्रियास ब्रेहमेले पेनाल्टीमा गोल गरेपछि अर्जेन्टिना पराजित भएको थियो। सन् २०२६ को यो फाइनल पनि ठ्याक्कै त्यस्तै लयमा अघि बढ्यो। जब टोरेसले गोल गरे, मेसी भुइँमा लडे र टाउको हातले ढाके। गिउलियानो सिमोनले अन्तिमतिर प्रयास गरे पनि बल पोस्ट माथिबाट बाहिरियो।
यसरी मेसीको विश्वकप यात्रा पनि अमेरिकाकै भुइँमा अन्त्य भयो, जहाँ डिएगो म्याराडोनाको यात्रा सकिएको थियो। तर मेसीले म्याराडोनाले जस्तै क्यामरा अगाडि चिच्याउने वा प्रतिबन्धित औषधि प्रयोगका कारण विवादमा परेर प्रतियोगिता छाड्नु परेन।
मेसीको बिदाइ कुनै विवादमा भएन, त्यहाँ केवल माया, कृतज्ञता र फरक नतिजाको तीव्र चाहना मात्र थियो। लेखक एफ. स्कट फिट्जगेराल्डले भनेका थिए, ‘मलाई एउटा नायक देखाऊ, म तिमीलाई एउटा त्रासदी लेखेर दिनेछु।’
तर यो कुनै त्रासदी थिएन। फाइनलको अघिल्लो राति मेसीले इन्स्टाग्राममा लेखेका थिए, ‘भोलि जेसुकै होस्, यो टोलीले एउटा यस्तो कथा लेखिसकेको छ, जसलाई हामी कहिल्यै भुल्ने छैनौं र यसलाई कसैले मेट्न सक्ने छैन।’
सन् २०२१ मा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जित्यो र त्यसपछि फेरि दोहोर्यायो। सन् २०२२ मा ३६ वर्षपछि विश्वकप जित्यो र यस पटक फेरि फाइनलसम्म पुग्यो।
फाइनलअघि न्यूयोर्कमा मेसीलाई कसैले भनेको थियो, ‘तपाईंको खेल जीवन कुनै भिडिओ गेमजस्तै हो, जहाँ अन्त्यसम्म पुग्दा नयाँ लेभलहरू अनलक भइरहन्छन्।’
मेसीले जबाफ दिएका थिए, ‘मैले अघिल्लो कतार विश्वकपमै यो खेल पूरा गरिसकेको थिएँ।’ किलियन एम्बाप्पेले इङ्ल्यान्डविरूद्ध तेस्रो स्थानको खेलमा गोल्डेन बुट जित्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरे पनि यस प्रतियोगिताका अधिकांश ठूला कीर्तिमान अझै पनि मेसीकै नाममा छन्। जब उनी टनेलबाट बाहिरिए, एउटा हराउँदै गएको युगको सम्झना ताजा भयो। अब मेसीबिनाको विश्वकप कस्तो होला?
उनी सहभागी भएको छैटौं र सम्भवतः अन्तिम विश्वकप साँच्चै नै अविस्मरणीय रह्यो। फिफाले टोलीहरूको संख्या जति थपे पनि एउटा कुरा निश्चित छ — मेसीबिनाको विश्वकप सधैं अधुरो र खल्लो नै महसुस हुनेछ।
(साभार: न्यूयोर्क टाइम्स)
