अकल्याण्ड। न्युजिल्याण्डको मौसम पूर्वानुमान निकाय मेटसर्भिस (MetService) ले वेलिङ्टन सहर र वेलिङ्टन विमानस्थल क्षेत्रका लागि भीषण चट्याङसहितको वर्षा (Severe Thunderstorm) को चेतावनी जारी गरेको छ।

शनिबार बिहान ९ः२० बजे जारी गरिएको चेतावनी बिहान ११ बजाअघिसम्म लागू रहने जनाइएको छ। मेटसर्भिसका अनुसार मौसम रडारले पूर्व–उत्तरपूर्वतर्फ सर्दै गरेका शक्तिशाली चट्याङयुक्त बादलहरू पहिचान गरेको छ।

मौसमविद्हरूका अनुसार यस अवधिमा अत्यधिक वर्षा (Torrential Rain) हुने सम्भावना रहेको छ। यस्तो वर्षाका कारण खोल्सा, नाला तथा सहरी क्षेत्रमा आकस्मिक बाढी (Flash Flood) आउन सक्ने, सडकमा पानी जम्न सक्ने तथा सवारी आवागमन अत्यन्त जोखिमपूर्ण बन्न सक्ने चेतावनी दिइएको छ।

यसैबीच, नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (NEMA) ले सर्वसाधारणलाई मौसम प्रतिकूल रहँदासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। एजेन्सीले सकेसम्म घरभित्र सुरक्षित स्थानमा बस्न, झ्यालबाट टाढा रहन, बाहिर भए रुखमुनि आश्रय नलिन, पानीमा रहेका व्यक्तिहरू तत्काल किनारामा फर्किन तथा सवारी साधनलाई सुरक्षित स्थानमा राख्न सुझाव दिएको छ।

त्यसैगरी, घर वरपरका खुला वस्तु सुरक्षित राख्न, पानी निकासका नाला तथा गटर सफा गर्न र यात्रा गर्नुपरे सावधानीपूर्वक सवारी चलाउन वा आवश्यक परे रोकिन पनि आग्रह गरिएको छ।

अधिकारीहरूले आँधीपछिको अवस्थामा ढलेका रुख, विद्युत् लाइन तथा बाढी आएको खोला–नाला नजिक नजान पनि अनुरोध गरेका छन्। आकस्मिक बाढीको जोखिम कायम रहने भएकाले आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी सूचना निरन्तर पछ्याउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Photo: JUAN ZARAMA PERINI / THE POST