गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउने कुनै पनि प्रयास सह्य नहुने चेतावनी दिएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
गृहमन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर भ्रम सिर्जना गर्ने तथा सुशासनलाई कमजोर बनाउने कार्य गर्नु वा गराउन न्यायोचित नहुने स्पष्ट पारे । वर्तमान सरकारको गठन नै तोकिएको समयमा निर्वाचन गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यका साथ भएको उल्लेख गर्दै भने तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने र निर्वाचन निष्पक्ष, स्वतन्त्र र जनताले अनुभूति गर्न सक्ने ढंगबाट सम्पन्न गराउने गरी बृहत योजनाका साथ कार्यान्वयनमा लगिने छ ।
गृहमन्त्री अर्यालले भने, ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीँकतैबाट पनि हुनु हुँदैन। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशका प्रदेश तथा जिल्लास्तरमा रहेका सुरक्षा चुनौतीको सामना गर्न सक्षम सुरक्षा योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ।”
