काठमाडौं। नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै अब पुरानै नेतृत्वले पार्टीलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने बताएका छन्।

सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा एमाले जनतातर्फ नभई नेतातर्फ केन्द्रित भएको टिप्पणी गरे। पार्टीलाई पुनः जनतातर्फ फर्काउन आवश्यक रहेको उनको भनाइ छ।

भट्टराईले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउँदै जनमुखी बनाउने उद्देश्यका साथ आफूहरू चुनावी प्रतिस्पर्धामा रहेको दाबी पनि गरे। जेन–जी विद्रोहपछि राजनीतिक परिस्थितिमा व्यापक परिवर्तन आएको र त्यसअनुसार नेतृत्व हस्तान्तरण अपरिहार्य भएकोमा उनले जोड दिए।

उनले सञ्चारकर्मीसँग भने, “भदौ २३ र २४ को विद्रोहपछि देशको राजनीतिक परिस्थिति बदलिएको छ। यस्तो अवस्थामा पुरानै नेतृत्वले फेरि पार्टी सम्हाल्न सक्दैन। नेतृत्वप्रति धेरै प्रश्न उठेका छन्। त्यसैले नयाँ टिमसहित नेतृत्व हस्तान्तरण गरेर नेकपा एमालेलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो।”

उनले पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउने, सदस्यहरूको गरिमा बढाउने र पार्टीलाई नेतामुखी नभई जनमुखी बनाउने लक्ष्य रहेको उल्लेख गरे। जनताबाट अनुमोदित भएर आउने नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्ने गरी अघि बढ्ने उद्देश्यसहित आफूहरू प्रतिस्पर्धामा रहेको उनको भनाइ छ।

महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले पार्टीसँगै राज्यसत्ताको नेतृत्व गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा भट्टराईले जोड दिए।