वेलिङ्टन। न्युजिल्याण्ड सरकारले बढ्दो इन्धन मूल्यका कारण कामकाजी परिवारलाई दिँदै आएवेलिङ्टन। न्युजिल्याण्ड सरकारले बढ्दो इन्धन मूल्यका कारण कामकाजी र न्यून आए भएको परिवारलाई दिँदै आएको राहत कार्यक्रमलाई निरन्तरता दिने वा अन्त्य गर्ने विषयमा छलफल सुरु गरेको छ। अन्तर्राष्ट्रिय बजारमा फेरि इन्धनको मूल्य बढ्न थालेपछि सरकारले कार्यक्रम तत्काल अन्त्य गर्ने विषयमा पुनः विचार गरिरहेको जनाएको छ।
गत अप्रिलदेखि लागू गरिएको राहत योजनामार्फत हालसम्म १ लाख ४३ हजारभन्दा बढी परिवारले इन–वर्क ट्याक्स क्रेडिट (In-Work Tax Credit) अन्तर्गत अतिरिक्त आर्थिक सहयोग प्राप्त गरेका छन्। यो सहायता सामान्यतया १२ महिनासम्म वा ९१ ग्रेडको पेट्रोलको मूल्य लगातार चार सातासम्म प्रतिलिटर ३ न्युजिल्याण्ड डलरभन्दा तल झरेसम्म उपलब्ध हुने व्यवस्था छ।
जुन महिनाको अन्त्यतिर पेट्रोलको औसत मूल्य ३ डलरभन्दा तल झरे पनि मध्यपूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय तेल बजार फेरि महँगिएको छ। सोमबार बिहानको तथ्याङ्कअनुसार ९१ ग्रेड पेट्रोलको औसत मूल्य पुनः प्रतिलिटर ३ न्युजिल्याण्ड डलर पुगेको छ।
वित्तमन्त्री निकोला विलिसले सरकारले इन्धन मूल्यसम्बन्धी तीन साताको आधिकारिक तथ्याङ्क प्राप्त गरिसकेको र चौथो साताको विवरणपछि मन्त्रिपरिषद्मा राहत कार्यक्रमको भविष्यबारे प्रस्ताव लैजाने जानकारी दिएकी छन्। उनका अनुसार अधिकारीहरूले आगामी साताहरूमा इन्धनको मूल्य पुनः ३ डलरभन्दा माथि जाने अनुमान गरेका छन्।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले मध्यपूर्वको अवस्थाका कारण इन्धन मूल्यमा उतारचढाव हुन सक्ने भएकाले सरकार निर्णय गर्दा व्यावहारिक हुने बताए। उनले मूल्य अस्थायी रूपमा घटेको मात्र हो कि दीर्घकालीन रूपमा स्थिर भएको हो भन्ने आधारमा निर्णय गरिने स्पष्ट पारे।
यसैबीच सरकारले फ्यामिलीबुस्ट (FamilyBoost) योजनाअन्तर्गत पनि ९७ हजार ५ सयभन्दा बढी परिवारले भुक्तानी प्राप्त गरेको जनाएको छ। तीमध्ये ६ हजार ५ सय ६६ परिवारले प्रतिहप्ता अधिकतम १२० न्युजिल्याण्ड डलरसम्मको सहायता पाएका छन्।
सरकारका अनुसार सन् २०२५ मा सुधार गरिएको फ्यामिलीबुस्ट योजनाअन्तर्गत प्रारम्भिक बालशिक्षा शुल्कको ४० प्रतिशतसम्म फिर्ता पाउने व्यवस्था गरिएको छ। साथै, वार्षिक आम्दानीको योग्यता सीमा १ लाख ८० हजार डलरबाट बढाएर २ लाख २९ हजार डलर पुर्याइएकाले थप परिवार लाभान्वित भएका छन्।
