करिब चार वर्षदेखि आन्तरिक विवादमा रुमलिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आइतबार पुनः एकतावद्ध हुने भएको छ। संघले काठमाडौंमा ‘वृहत एकता घोषणा कार्यक्रम’ आयोजना गरी दुई सक्रिय समूह एकतामा बाधिन लागेको हो । संघको १०औँ महाधिवेशनपछि उत्पन्न सदस्यता विवाद, प्रतिनिधि निर्धारणको प्रक्रिया अवहेलना र विधान कार्यान्वयनमा देखिएका त्रुटिका कारण डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई भागमा विभाजित भएको थियो।

परराष्ट्र मन्त्रालयअन्तर्गत दर्ता भएको एनआरएनएको एकता घोषणा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुशीला कार्कीको रोहवरमा हुने तय भएको छ । संघका उपमहासचिव तथा एकता वार्ता समिति सदस्य सोम सापकोटाका अनुसार लामो समयको विवादले संगठन मात्र होइन, गैरआवासीय नेपाली समुदाय र देशको छविमासमेत नकारात्मक असर पारेको भन्दै दुवै समूहबीच एकता हुन लागेको हो । उनले चार वर्षको विभाजनले संगठनले कमाएको विश्वास, ऊर्जा र प्रभावलाई कमजोर बनाएको स्वीकार गर्दै अब यस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको पनि जानकारी गराए ।

एकता प्रक्रियाका लागि दुवै समूहबाट गठन गरिएको तीन–तीन सदस्यीय वार्ता समितिले यस अघि नै विवादित मुद्दाहरू मिलाइसकेको थियो । जस आनुसार १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवै संरचनालाई मान्यता दिने, १२औँ महाधिवेशनको तयारी तथा निर्वाचन सञ्चालनका लागि अध्यक्ष केसी र श्रेष्ठको नेतृत्वमा संयुक्त स्टेयरिङ कमिटी गठन गर्ने, दुवै पक्षले अदालतमा दर्ता गरेका मुद्दा फिर्ता गर्ने जस्ता विषयमा सहमति जुटेको छ । साथै सदस्यता वितरणका लागि समय थपिने, फुटेका देशका एनसीसीहरूले पुनः एकीकृत हुन सक्ने वातावरण बनाइने र सदस्यता व्यवस्थापनका लागि एमआईएस प्रणाली परिमार्जन गरिने सहमतिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को विभाजनसँगै केही देशमा दुई वटा एनसीसी गठन भएका थिए। यी संरचनालाई एकतामा ल्याउन समय दिने र सबै सदस्यलाई परिमार्जित प्रणालीमा पुनः सूचीकृत गर्न आह्वान गरिएको छ। विधानअनुसार पञ्जीकृत सदस्यलाई मात्र महाधिवेशनमा सहभागी गराइने भएकाले कसैलाई अन्याय नहोस् भन्ने उद्देश्यले सदस्यता अद्यावधिक प्रकृयामा लचिलो व्यवस्था अपनाइने जनाइएको छ।

एनआरएनएले फेब्रुअरी अन्तिममा १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ। स्टेयरिङ कमिटीले नै निर्वाचन सञ्चालन गर्ने र यो प्रक्रिया निष्पक्ष, पारदर्शी तथा सबैले स्वीकार्ने खालको हुने संघको दाबी छ। सापकोटाका अनुसार १२औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले विगत चार वर्षमा कमजोर बनेको एनआरएनएको साख पुनर्स्थापित गर्नेछ।

सापकोटाले चार वर्षको विभाजनलाई संगठन, सदस्य र देशका लागि घाटा भएको अनुभवले नै सबैलाई नजिक ल्याएको बताए। उनका शब्दमा, “विगतका कमजोरीले हामीलाई एक ठाउँमा ल्यायो। अब फरक–फरक बाटो होइन, एकै ढिक्का भएर अघि बढ्ने समय आएको छ।” उनका अनुसार गैरआवासीय नेपालीको भावना र दबाबअनुसार, सबैलाई समेट्नेगरी र अब कहिल्यै नफुट्ने स्थायी एकतासहित एनआरएनए नयाँ यात्रामा अघि बढ्न तयार छ।