न्युजिल्याण्डमा नेपाली समुदायबीच लोकप्रिय फुटबल प्रतियोगिता टेन्जिङ–हिलारी कप (टीएचसी) को १२औँ संस्करण आगामी २०२७ फेब्रुअरी ६ र ७ गते टौराङ्गामा आयोजना हुने भएको छ। वेटाङ्गी सप्ताहन्तको अवसरमा आयोजना हुने प्रतियोगितामा न्युजिल्याण्डभर रहेका नेपाली फुटबल क्लब तथा खेलाडीहरूको सहभागिता रहनेछ।

आयोजकले आगामी संस्करणका लागि ‘द जर्नी कन्टिन्युज, द प्यासन रिटर्न्स’ अर्थात् यात्राले निरन्तरता पाउँदैछ, फुटबलप्रतिको जोश पुनः फर्किँदैछ भन्ने नारासहित प्रतियोगिताको घोषणा गरेको छ। टीएचसीले प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब, खेलाडी तथा फुटबलप्रेमीहरूलाई आफ्नो क्यालेन्डरमा मिति सुरक्षित राख्न आग्रह गरेको छ।

टेन्जिङ–हिलारी कप न्युजिल्याण्डमा नेपाली समुदायको फुटबलसँग जोडिएको महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ। सन् २०१५ देखि आयोजना हुँदै आएको यस प्रतियोगिताले खेलकुदका माध्यमबाट नेपाली समुदायबीचको आपसी सम्बन्ध, एकता र सहकार्यलाई बलियो बनाउनुका साथै नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

विश्वप्रसिद्ध हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको हिमालय आरोहणको ऐतिहासिक विरासतलाई सम्मान गर्दै प्रतियोगिताको नाम टेन्जिङ–हिलारी कप राखिएको हो।

प्रतियोगिताका विभिन्न संस्करणमा न्युजिल्याण्डका विभिन्न शहरमा रहेका नेपाली फुटबल क्लबहरूले सहभागिता जनाउँदै आएका छन्। खुकुरी एफसी, गोरखा एफसी, गोर्खाली एफसी, नेपाल युनाइटेड एफसी, टिम ल्होत्साम्पा र हिमालयन्स एफसी लगायतका टोलीले विगतका संस्करणमा प्रतिस्पर्धा गरिसकेका छन्।

आगामी संस्करणमा सहभागी हुने टोली, खेल तालिका तथा दर्तासम्बन्धी थप विवरण आयोजकले क्रमशः सार्वजनिक गर्ने जनाएको छ। २०२७ फेब्रुअरी ६ र ७ गते टौराङ्गामा हुने टीएचसीको १२औँ संस्करणका लागि काउन्टडाउन सुरु भएको छ।