काठमाडौं – भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (IITM) २०२५ ले नेपाललाई वर्षको सर्वोत्तम साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मान गरेको छ। नोभेम्बर २७ देखि २९ सम्म सम्पन्न उक्त कार्यक्रमअन्तर्गत अवार्ड नाइट २०२५ मा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्याले अवार्ड ग्रहण गरेका हुन्।
अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रेजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू प्रस्तुत गर्नुभएको थियो। प्रस्तुतिमा बुद्ध सर्किट, रामायण सर्किट, अन्तरदेशीय इको–ट्रेलहरू, युनेस्को विश्व सम्पदा स्थलहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय ट्रेकिङ र हिमाल आरोहण अवसरहरू, साथै रोमाञ्चक साहसिक खेलहरू समेटिएका थिए।
नेपाल पर्यटन बोर्डले १५ प्रमुख ट्राभल ट्रेड कम्पनीहरूसँग सहकार्य गर्दै भारतीय यात्रा व्यवसायी तथा प्रमोटरहरू माझ नेपालका विशिष्ट पर्यटन प्याकेज र आकर्षण प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका सयौँ ट्राभल ट्रेड प्रतिनिधि, पर्यटन व्यवसायी र पर्यटकको सक्रिय सहभागिता रहेको थियो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस सहभागिताले भारतीय बजारमा नेपालप्रति उल्लेखनीय चासो र माग बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, यस किसिमका अन्तर्राष्ट्रिय मञ्चमा बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा सशक्त बनाउनेछ।
नेपाल पर्यटन बोर्डले पुणे २०२५ मा नेपालको सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य र अतिथिसत्कारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर पाएकोमा उत्साह व्यक्त गरेको छ।

