राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल तथा जेन–जी आन्दोलनका सरोकारवालासहितको सर्वपक्षीय बैठक बोलाउन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। शनिबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेट्दै राप्रपाले देशलाई दीर्घकालीन समाधान दिन सर्वपक्षीय संवाद अनिवार्य भएको बताउँदै तत्काल पहल गर्न आग्रह गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अन्तरिम सरकार केवल २०८४ मा हुने निर्वाचनलाई दुई वर्ष अघि सारेर २०८२ मा गराउने उद्देश्यले मात्र बनेको होइन, देशका गम्भीर समस्याहरू समाधान गर्ने जिम्मेवारीसहित गठन भएकाले सोहीअनुसार पहल गर्न आग्रह गरिएको जानकारी दिए। साथै, निर्वाचन मात्र समस्याको समाधान नहुने भएकाले स्थायी राजनीतिक निकासका लागि सर्वपक्षीय बैठकको आवश्यकता रहेको पनि उनले स्पष्ट पारे।
राप्रपाले आगामी आम निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको जानकारी दिए। भेटपछि अध्यक्ष लिङदेनले सञ्चारकर्मीसँग भने, ‘जेन–जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइते भएकाले उनीहरूको मागलाई प्राथमिकतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीसमक्ष उठाएका छौँ।’ जेन–जी आन्दोलनमा सहभागी भएकै आधारमा सर्वसाधारणलाई पक्राउ गरी दुःख दिने कार्य भइरहेको आरोप लगाउँदै राप्रपाले अपराधमा संलग्नबाहेक केवल प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गर्ने अभ्यास तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ।
अध्यक्ष लिङदेनले जेन–जीका प्रमुख अभियन्ताहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाउने, दिउँसो हिरासतमा राख्ने र बेलुका मात्र रिहा गर्ने जस्ता गतिविधि भइरहेको भन्दै यस्ता कार्यले आन्दोलनरत पक्षसँगको विश्वासमा गम्भीर असर पार्ने टिप्पणी गरे। पार्टीले यही विषयलाई केन्द्रमा राखेर मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा आयोजना गर्ने र देशभर यस्तै कार्यक्रम सञ्चालन गर्ने जानकारी प्रधानमन्त्रीलाई गराएको पनि उनले बताए।
राप्रपाको प्रस्तावित सर्वपक्षीय छलफलमा राजासहित सबै सरोकारवालाको सहभागिता सुनिश्चित हुनुपर्ने लिङदेनको धारणा थियो। तर, प्रधानमन्त्री कार्कीले यस्ता छलफलबारे अहिले कुनै योजना वा सोच नसकेको तथा उक्त विषय आफ्नो अधिकारक्षेत्रमा नपर्ने प्रतिक्रिया दिएको उनले बताए। अध्यक्ष लिङदेनका अनुसार सरकार प्रमुखका रूपमा सबै पक्षलाई एक ठाउँमा ल्याएर समाधान खोज्ने संयोजनको भूमिका प्रधानमन्त्रीले निर्वाह गर्नुपर्ने सुझाव पनि राखिएको छ। न्युज एजेन्सी नेपालको सहयोगमा।
