अकल्याण्ड। न्युजिल्याण्ड नेपाल सोसाइटी (एनजेडएनएस) ले आगामी २८ अगस्ट २०२६ मा भव्य तीज महोत्सव गर्ने भएको छ। हिन्दु नारीहरूको विशेष महत्व बोकेको तीजलाई प्रवासमा रहेका नेपाली महिलाहरूले पनि विशेष महत्वका साथ मनाउँदै आएका छन्। त्यसैलाई आत्मसात् गर्दै एनजेडएनएसले प्रत्येक वर्ष तीज महोत्सव गर्दै आएको छ।
एनजेडएनएसले यस वर्षको तीज कार्यक्रमलाई भव्य बनाउन भन्दै सात सदस्यीय महिला संयोजक समिति गठन गरेको छ। समितिका सबै सदस्यलाई समान अधिकारका साथ तीज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।
तीज उत्सवको संयोजक टोलीमा चेलिना कटवाल, सन्ध्या खत्री, श्रद्धा पराजुली, प्रकृति घिमिरे, रचना शिवाकोटी, अस्मिता सिलवाल र महिमा भुसाल रहेका छन्। संस्थाले उनीहरूको सक्रियता, सिर्जनशीलता र समर्पणले यस वर्षको तीज उत्सवलाई समुदायका लागि विशेष बनाउने विश्वास रहेको सोसाइटीका अध्यक्ष रोषन खड्का ले हिमालपारीलाई बताए।
तीज नेपाली महिलाको शक्ति, सहनशीलता, संस्कृति र आत्मीयताको प्रतीक पर्व भएकाले यस वर्षको कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र स्मरणीय बनाउन सात जना सक्रिय महिलालाई संयोजनको जिम्मेवारी दिएको भन्दै खड्काले थपे, तीज कार्यक्रमसँग सम्बन्धित सञ्चालन (एमसी), स्वयंसेवा, सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, प्रायोजन तथा अन्य जानकारी आवश्यक परेमा इच्छुकहरूले संयोजक टोलीका सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।
सोसाइटीले यस वर्षको तीज उत्सवमा प्रवेश निःशुल्क रहेको भन्दै सबैलाई सहभागी हुन अपिल गरेको छ।
कार्यक्रममा सहभागी हुन चाहने सदस्य तथा अतिथिले भने २५ अगस्ट २०२६ भित्र अनिवार्य रूपमा आरएसभीपी (RSVP) गर्नुपर्नेछ। यसैका आधारमा सहभागीको सङ्ख्याअनुसार भोजन व्यवस्थापन गर्न सहज हुने संस्थाको भनाइ छ।
खड्काले हालसम्म सदस्यता नलिएका वा नवीकरण गर्न बाँकी रहेका नेपालीलाई सदस्यता लिन पनि आग्रह गरेका छन्। एनजेडएनएसका अनुसार विद्यार्थी सदस्यता तथा उनीहरूका परिवारको सदस्यता लिन पनि कुनै शुल्क बुझाउनु पर्दैन।
