काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक इन्द्रजात्राको तयारी राजधानीमा सुरु भएको छ। जात्राका लागि प्रयोग हुने मार्ग तथा आसपासका सम्पदा क्षेत्रमा सरसफाइ, रंगरोगन र मर्मतसम्भारको काम अघि बढाइएको छ।
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समिति, गुठी तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा जात्रालाई व्यवस्थित र सहज रूपमा सञ्चालन गर्ने तयारी थालेको हो। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई आकर्षक बनाउन रंगरोगन तथा आवश्यक मर्मतसम्भारको कामसमेत भइरहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्रासँग सम्बन्धित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिको समयतालिका सार्वजनिक गरेको छ। समितिका अनुसार इन्द्रजात्रासँग सम्बन्धित विभिन्न विधि तथा कार्यक्रम भदौ २८ देखि असोज १३ गतेसम्म सञ्चालन हुनेछन्।
समयतालिकाअनुसार भदौ २८ गते बिहान ९ः१५ बजे इन्द्रजात्राका लागि लिंगो ल्याउन मानिसहरू प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी भदौ २९ गते साँझ ६ः४५ बजे अर्को धार्मिक विधि सम्पन्न हुनेछ।
यस्तै, इन्द्रजात्राका लागि योसिन (लिंगो) काठमाडौं ल्याउने विधि असोज २ गते बिहान १०ः३० बजे हुनेछ। असोज ७ गते बिहान ७ः४० बजे इन्द्रध्वजोत्थान गरिनेछ। त्यसपछि इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार कुमारीको रथयात्रा निकालिनेछ।
जात्राको अन्तिम चरणमा असोज १३ गते मंगलबार नानीचा यात्रा हुनेछ। त्यसपछि राति १२ः१५ बजे इन्द्रध्वज अवतरण गरिनेछ, जससँगै यस वर्षको इन्द्रजात्राको मुख्य धार्मिक विधि सम्पन्न हुनेछ।
इन्द्रजात्राका क्रममा विभिन्न धार्मिक अनुष्ठान, रथयात्रा, परम्परागत नाच तथा सांस्कृतिक गतिविधि आयोजना गरिन्छन्। जीवित देवी कुमारीसँगै गणेश र भैरवको रथयात्रा जात्राका प्रमुख आकर्षणमध्ये पर्छ। इन्द्रजात्रा काठमाडौंको पुरानो सहर क्षेत्रमा केन्द्रित हुने आठदिने प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो।
काठमाडौं महानगरपालिकाले रथयात्रा हुने मार्गका सडक तथा अन्य पूर्वाधारको मर्मतसम्भारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। रथ सञ्चालन तथा ठूलो संख्यामा भक्तजन र पर्यटकको आवागमनलाई सहज बनाउन जात्रा मार्ग खुला, सुरक्षित र व्यवस्थित राख्न विशेष ध्यान दिइने भएको छ।
जात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्राका साथै विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति हुनेछन्। काठमाडौं महानगरपालिकाले जात्रालाई थप व्यवस्थित र सहज बनाउने क्रममा यसको मौलिक स्वरूप तथा सांस्कृतिक महत्व संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।
महानगरपालिकाले स्थानीय समुदाय, गुठी तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै परम्परागत विधि र सांस्कृतिक अभ्यासको निरन्तरता सुनिश्चित गर्ने तथा इन्द्रजात्रालाई काठमाडौंको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा प्रवर्द्धन गर्ने तयारी गरिरहेको छ।