नेपाली काँग्रेसका सभापति गगन थापाले रेमिटेन्समा आधारित अर्थतन्त्र दीर्घकालीन रूपमा टिकाउ हुन नसक्ने भन्दै नेपाललाई आन्तरिक उत्पादन, कृषि र बाह्य अर्थतन्त्रसँग जोडिएको दिगो आर्थिक मोडेलतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

शुक्रवार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै थापाले रेमिटेन्सको भरमा मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव नभएको स्पष्ट पारे । उनले वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीले केही समय अर्थतन्त्र धान्न सहयोग गरे पनि त्यसले देशलाई निश्चित स्तरभन्दा माथि उठाउन नसक्ने बताए ।

उनले अहिलेको आवश्यकता भनेको विदेशमा भइरहेको आर्थिक गतिविधि, सीप र पूँजीलाई नेपालकै उत्पादनमूलक क्षेत्रमा जोडेर आन्तरिक अर्थतन्त्र बलियो बनाउनु रहेको धारणा राखे ।

कृषि क्षेत्रलाई रोजगारी र उद्यमको मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै थापाले कृषि व्यवसायीलाई दीर्घकालीन ऋण सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । उनले १५ वर्षसम्मको सहुलियतपूर्ण कर्जा व्यवस्था गर्न सके धेरै युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए ।

आफ्नो बाख्रा पालन व्यवसायको अनुभव सुनाउँदै थापाले पछिल्लो समय विदेशबाट फर्किएका धेरै नेपाली कृषि क्षेत्रमा आकर्षित भइरहेको उल्लेख गरे। उनले कृषि क्षेत्रमा लगानी, प्रविधि र बजारको सुनिश्चितता गर्न सके देशभित्रै ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताए ।

“रेमिटेन्सको भरमा मात्रै रहने हो भने देश एउटा निश्चित स्तरभन्दा माथि जान सक्दैन,” थापाले भने, “बाहिर भइरहेको अनुभव, पूँजी र अवसरलाई यहाँको अर्थतन्त्रसँग जोडेर कसरी अगाडि बढ्ने भन्ने अहिलेको मुख्य चुनौती हो ।”

उनले आफू संवाद, छलफल र बहसमा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै मुलुकको परिवर्तन नाराले होइन, स्पष्ट नीति र योजनामार्फत सम्भव हुने धारणा व्यक्त गरे ।

थापाको भनाइलाई नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने बहससँग जोडेर हेरिएको छ । पछिल्लो समय बढ्दो वैदेशिक निर्भरता, घट्दो कृषि उत्पादन र युवाको विदेश पलायनबारे चिन्ता बढिरहेका बेला उनले कृषि र उद्यमलाई केन्द्रमा राखेर आर्थिक पुनर्संरचनाको आवश्यकता औँल्याएका हुन् ।