पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ । आईतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले एमालेले आत्मसुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले एमालेभित्र यदाकदा सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिने गरेको उल्लेख गर्दै त्यसका कारण समाजमा प्रश्न उठ्ने गरेको बताउनुभयो । त्यस्ता कमजोरी अन्त्य गर्न जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब पार्टी जनताको सेवाभावमा अझ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै पार्टी र जनताबीच दूरी बढे राजनीतिक आन्दोलनको मर्म कमजोर हुने चेतावनी दिनुभयो ।
भण्डारीले भन्नुभयो, “विगतका उपलब्धिसँगै वर्तमानका चुनौतीप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ ।” उहाँले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान भएको मान्यतालाई व्यवहारमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
मदन–आश्रितको स्मृतिबाट आत्मसुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्ने प्रेरणा लिनुपर्ने उल्लेख गर्दै उहाँले कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्ने, जनताको दुःखसुखमा सहभागी हुनुपर्ने र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले एमाले नेता तथा कार्यकर्तालाई जनताको सुखदुःखमा साथ दिन र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय भूमिका खेल्न पनि सचेत गराउनुभयो ।
