करिब दुई वर्ष लामो संघर्ष र वार्तापछि नर्स, मिडवाइफ तथा स्वास्थ्य सहायकहरूले नयाँ सामूहिक सम्झौता स्वीकार गरेका छन् । सम्झौतासँगै न्युजिल्याण्डभरका करिब ३५ हजार स्वास्थ्यकर्मी लाभान्वित हुने भएका छन् ।

स्वास्थ्य मन्त्री सिमेओन ब्राउनका अनुसार सम्झौताअनुसार पहिलो वर्ष २ दशमलव ५ प्रतिशत र दोस्रो वर्ष २ प्रतिशत तलब वृद्धि गरिनेछ । साथै तलब स्केलको उच्च तहमा रहेका नर्सहरूलाई २ हजार डलर तलब समायोजन गरिनेछ ।

त्यस्तै वरिष्ठ तोकिएका नर्सहरूलाई १ हजार ३ सय डलर तथा अन्य स्वास्थ्यकर्मीलाई १ हजार डलर एकमुष्ट भुक्तानी प्रदान गरिनेछ । विभिन्न भत्ताहरूमा पनि वृद्धि गरिने भएको छ । नर्स प्राक्टिसनरहरूको व्यावसायिक विकास भत्ता बढाएर वार्षिक ६ हजार डलर पुर्‍याइनेछ ।

सम्झौताअन्तर्गत एनजेडएनओ र हेल्थ न्युजिल्याण्डबीच सुरक्षित बिरामी हेरचाहसम्बन्धी प्रतिबद्धता पत्र पनि तयार गरिने भएको छ । टि फाटु ओरामा कार्यरत ३८ हजारभन्दा बढी युनियन सदस्यहरूले गोप्य मतदानमार्फत सम्झौताबारे निर्णय गरेका थिए ।

न्युजिल्याण्ड नर्सेस अर्गनाइजेशनले अब सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु हुने जनाएको छ । यस क्रममा नर्स–बिरामी अनुपातबारे अध्ययन गरिनुका साथै ते तिरिटी प्रतिबद्धतामा सांस्कृतिक दृष्टिकोण लागू गरिने बताइएको छ ।

वार्तामा सहभागी प्रतिनिधि डन ब्यारेटले प्रस्ताव अस्वीकार गर्ने पक्षमा रहेका धेरै सदस्यहरू अझै संघर्ष जारी राख्न तयार रहेको बताउनुभयो । उहाँले बिरामी र नर्सिङ कर्मचारीका पक्षमा उभिने सदस्यहरूको योगदानका कारण नै प्रगति सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले सबै न्युजिल्याण्डवासीले आवश्यक स्वास्थ्य सेवा पाउनुपर्ने र नर्स, मिडवाइफ तथा स्वास्थ्य सहायकहरूको योगदानलाई उचित सम्मान र मूल्यांकन गरिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्री ब्राउनले सम्झौता पारित भएकोमा खुशी व्यक्त गर्दै अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूको समर्पण, सीप र व्यावसायिकताको प्रशंसा गर्नुभयो ।