काठमाडौं । सरकारले महिलाको सुरक्षित, सहज र निःशुल्क सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यका साथ आगामी साउनदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने भएको छ। सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्ययोजनाअन्तर्गत पहिलो चरणमा साझा यातायातका आठ वटा विद्युतीय बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्न लागिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा, नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ।
सरकारले सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा विस्तार गर्ने योजना अघि सारेको छ। सोही योजनाअनुसार पहिलो १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा आठ वटा बसबाट सेवा सुरु गर्न लागिएको हो।
हाल ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझा यातायातले सरकारसँगको सहमतिअनुसार तीमध्ये आठ वटा बसलाई ‘ब्लु बस’मा रूपान्तरण गर्नेछ। बसको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पनि साझा यातायातले नै सम्हाल्नेछ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार बस सञ्चालनका लागि आवश्यक बजेट स्वीकृतिका निम्ति प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकिएको छ। बजेट स्वीकृत भएपछि सरकारसँग सम्झौता गरेर सेवा सञ्चालन गरिने उनले बताए।
उनका अनुसार एउटा विद्युतीय बस सञ्चालन गर्न दैनिक करिब १० हजार रुपैयाँ खर्च लाग्छ भने वार्षिक सञ्चालन खर्च करिब ३६ लाख रुपैयाँ पुग्छ। आठ वटा बस सञ्चालनका लागि सरकारले वार्षिक करिब तीन करोड रुपैयाँ बजेट व्यवस्था गर्नुपर्ने अनुमान गरिएको छ।
अर्यालले सम्झौतापछि बसहरूको रङ निलो (ब्लु) मा परिवर्तन गरिने जानकारी दिँदै ‘ब्लु बस’ नामअनुसार बसको बाह्य स्वरूप पनि फरक बनाइने बताए।
महिलाले यस सेवामा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिने भए पनि महिलासँगै पुरुष यात्रु चढ्न पाउने वा नपाउने भन्ने विषयमा भने सरकारले अझै अन्तिम निर्णय गरिसकेको छैन।
