काठमाडौं। म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखिएको जनाएको भए पनि उहाँ वास्तवमा कहाँ हुनुहुन्छ भन्ने विषय अझै रहस्यमै रहेको छ।

सन् २०२१ मा भएको सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिएकी ८१ वर्षीया सुकीको वास्तविक बसोबासबारे सैन्य अधिकारी, राजनीतिज्ञ तथा राजधानी न्यापिडोका स्थानीय बासिन्दासमेत अनभिज्ञ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सैनिक शासक मिन आङ ह्लाइङले गत अप्रिलमा सुकीलाई न्यापिडो कारागारबाट निकालेर नजरबन्दमा सारिएको घोषणा गरेका थिए। उनले यसलाई मानवीय कदमका रूपमा प्रस्तुत गरेका थिए। तर मानवअधिकारकर्मी र आलोचकहरूले भने सुकी अझै कडा सुरक्षाबीच अज्ञात स्थानमा एकान्तमा राखिएको दाबी गर्दै यो घोषणा अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास मात्र भएको बताएका छन्।

करिब १० लाख जनसंख्या रहेको न्यापिडो सुरक्षा र गोपनीयतालाई प्राथमिकतामा राखेर निर्माण गरिएको योजनाबद्ध राजधानी हो। विशाल सरकारी परिसर, जङ्गल, फराकिला सडक र सीमित सार्वजनिक पहुँचका कारण यहाँ व्यक्तिको वास्तविक स्थान पहिचान गर्न निकै कठिन हुने विज्ञहरू बताउँछन्।

सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) का नेता थेइन तुन ओओले समेत सुकी कहाँ राखिएको छ भन्ने जानकारी आफूलाई नभएको स्वीकार गरेका छन्।

सन् २००५ मा तत्कालीन सैनिक शासक थान श्वेले राजधानीका रूपमा स्थापना गरेको न्यापिडोलाई राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपबाट सत्ता सुरक्षित राख्ने उद्देश्यले विकास गरिएको सहरी योजनाकारहरूको विश्लेषण छ। सहरमा विशाल सरकारी भवन, सुनसानजस्तै देखिने सडक, कडा सुरक्षा व्यवस्था तथा सञ्चार नियन्त्रणका कारण बाहिरी व्यक्तिलाई गतिविधि बुझ्न कठिन हुने बताइन्छ।

कोलम्बिया विश्वविद्यालयका सहायक प्राध्यापक तथा वास्तुविद् गालेन पार्डीका अनुसार न्यापिडोको संरचना परम्परागत सहरी विकासभन्दा पनि राजनीतिक नियन्त्रण र सुरक्षा आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो। स्थानीय बासिन्दाले समेत सहरका धेरै क्षेत्र आफूहरूकै लागि अपरिचित रहेको बताउँदै सुकीको वास्तविक स्थानबारे अनुमान गर्न नसकिने बताएका छन्।

सुरक्षाका कारण नाम सार्वजनिक नगरेकी एक स्थानीय महिलाले न्यापिडोका धेरै सडक र सरकारी क्षेत्र अझै आफूलाई पनि अपरिचित लाग्ने भन्दै सुकी कहाँ राखिएको छ भन्नेबारे कुनै जानकारी नभएको बताएकी छन्।

स्वतन्त्रता सेनानी आङ सानकी छोरी सुकीले सन् १९८८ मा म्यान्मा फर्किएपछि प्रजातन्त्र आन्दोलनको नेतृत्व गरेकी थिइन्। उनले वर्षौंसम्म नजरबन्द जीवन बिताएकी थिइन् र सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्। पछि सीमित लोकतान्त्रिक व्यवस्थामा सरकारको नेतृत्व गरे पनि सन् २०२१ को सैनिक ‘कू’ पछि पुनः पक्राउ परेकी थिइन्।

अधिकारवादी संस्थाहरूले राजनीतिक उद्देश्यले लगाइएका आरोपका आधारमा सुकीलाई कैदमा राखिएको भन्दै निरन्तर आलोचना गर्दै आएका छन्।

सुरक्षा निकायका दुई स्रोतका अनुसार सुकीलाई नजरबन्दमा सारिएको भनिए पनि उहाँलाई कहाँ राखिएको छ भन्ने जानकारी अधिकांश सुरक्षा अधिकारीहरूलाई समेत छैन।

सुकीका छोरा किम एरिसले लन्डनबाट एएफपीसँग कुरा गर्दै आफ्नी आमालाई सामान्य घरमा नभई निजी कारागारसरहको कडा निगरानी भएको स्थानमा राखिएको विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अहिलेको अवस्था विगतमा सुकीले भोगेको लामो नजरबन्द जीवनभन्दा धेरै फरक छैन।

यसैबीच, सुकीको दललाई निर्वाचन प्रक्रियाबाट बाहिर राखेर सम्पन्न गरिएको निर्वाचनपछि सैनिक समर्थक यूएसडीपी सत्तामा पुगेको छ। यूएसडीपीका सांसद आय चानले सुकीको राजनीतिक युग समाप्त भइसकेको दाबी गर्दै उनी रिहा भए पनि राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने टिप्पणी गरेका छन्। तर सुकीको वास्तविक बसोबास कहाँ छ भन्ने प्रश्नको उत्तर उनी स्वयंले पनि दिन सकेनन्।