विदेशमा बसेर नेपाल र नेपाली समुदायका लागि काम गर्न पद, प्रतिष्ठा वा सरकारी जिम्मेवारी नै चाहिन्छ भन्ने मान्यता धेरैको मनमा हुन सक्छ । तर, न्युजिल्याण्डमा पछिल्ला केही वर्षयता देखिएको एउटा उदाहरणले भने यो धारणालाई फरक ढंगले व्याख्या गरिरहेको छ । त्यो उदाहरण हुन् — न्युजिल्याण्डका लागि नेपालका निवर्तमा अवैतनिक वाणिज्यदूत दिनेश खड्का ।

पदमा हुँदा सक्रिय हुनु सामान्य मानिन्छ । तर, पद सकिएपछि पनि उस्तै सक्रियता, उस्तै दौडधुप र उस्तै प्रतिबद्धताका साथ नेपाल र नेपाली समुदायका विषयमा निरन्तर लागिरहनु भने सबैका लागि सम्भव हुँदैन । खड्काले अहिले त्यही उदाहरण प्रस्तुत गरिरहेका छन् ।
नेपाल सरकारले केही साताअघि गरेको निर्णयअनुसार उनी अब औपचारिक रूपमा अवैतनिक वाणिज्यदूतको भूमिकाबाट बाहिरिइसकेका छन् । यद्यपि सरकारले अहिलेसम्म औपचारिक पत्र भने उपलब्ध नगराएको र अर्को व्यवस्था नभएसम्म नियमित काम जारी राख्न परराष्ट्र मन्त्रालयले मौखिक रूपमा आग्रह गरेको छ । सोहीअनुसार उनले नियमित सहजीकरण र समन्वयका कामलाई निरन्तरता दिइरहेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल सकिएको जानकारी दिँदै सबैप्रति धन्यवाद व्यक्त गरिसकेका छन् । तर उनको सक्रियता भने रोकिएको छैन । उनी अझै पनि नेपाल र न्युजिल्याण्डबीच सम्बन्ध विस्तार, सम्भावित लगानी, प्राविधिक सहकार्य र नेपाली समुदायका विषयमा विभिन्न तहमा छलफल र भेटघाटमा व्यस्त छन् ।
हिमालपारीसँगको कुराकानीमा खड्काले स्पष्ट शब्दमा भने, “नेपाल र नेपाली समुदायको हितमा काम गर्न कुनै पद चाहिँदैन । मेरो हरेक छलफल र भेट नेपाल र नेपालीकै हितका लागि हुने गरेका छन् । काम गर्ने इच्छा र प्रतिबद्धता भए पद ठूलो कुरा होइन ।”
उनको यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ न्युजिल्याण्डका स्वास्थ्य तथा ऊर्जा मन्त्री सिमियो ब्राउनसँगको भेट । भेटमा नेपाल र न्युजिल्याण्डबीच स्वास्थ्य, ऊर्जा तथा प्राविधिक सहकार्य विस्तारका विविध सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भेटबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा सरकार–सरकार (जिटुजि) मोडलमार्फत औषधि आयात र आपूर्ति सम्बन्धी सहकार्यको विषयमा विशेष छलफल भएको उल्लेख गरेका छन् । हाल न्युजिल्याण्डले आफ्नो करिब ८० प्रतिशत औषधि विदेशबाट आयात गर्दै आएको अवस्थामा नेपालका औषधि उद्योगका लागि पनि अवसर सिर्जना हुन सक्ने उनको भनाइ छ । नेपाल सरकारले औपचारिक पहल अघि बढाए न्युजिल्याण्डको ‘फार्माक’ प्रणालीमार्फत सहकार्य सम्भव हुने विषयमा सकारात्मक संवाद भएको उनले बताएका छन् ।
त्यसैगरी ऊर्जा क्षेत्रतर्फ नेपालको जलविद्युत् क्षेत्रमा प्राविधिक सहयोग र अनुभव आदानप्रदानबारे पनि छलफल भएको छ । नेपालमा जलविद्युत्को विशाल सम्भावना भए पनि धेरै साना तथा मझौला आयोजना प्राविधिक मर्मत र व्यवस्थापनसम्बन्धी चुनौतीसँग जुधिरहेका बेला न्युजिल्याण्डले आफ्नो अनुभव र दक्षता साझेदारी गर्न इच्छुक रहेको मन्त्री ब्राउनले बताएको खड्काले जानकारी दिएका छन् ।
खड्काले नेपालमा स्वास्थ्य र ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल–न्युजिल्याण्ड सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउने दिशामा आफू निरन्तर सक्रिय रहेको बताए । उनले नव नियुक्त अवैतनिक वाणिज्यदूतलाई आवश्यक सहयोग, सहजीकरण र अनुभव हस्तान्तरण गर्न आफू सधैं तयार रहेको पनि स्पष्ट पारेका छन् । नेपाल–न्युजिल्याण्डबीच सुरु भएका महत्वपूर्ण पहलहरूलाई निरन्तरता दिन आफूले सक्दो योगदान दिने उनको प्रतिबद्धता छ ।
न्युजिल्याण्डमा आयोजना हुने नेपाली समुदायका अधिकांश कार्यक्रम, सामाजिक अभियान र नेपालसँग जोडिएका गतिविधिहरूमा खड्काको उपस्थिति देखिने गरेको छ । व्यवसायी, सामाजिक संस्था वा नेपाली समुदायका सरोकारका विषयमा उनी निरन्तर समन्वय र सहजीकरणमा सक्रिय देखिन्छन् ।
विदेशमा रहेका नेपाली समुदायभित्र पद र संस्थागत राजनीति कहिलेकाहीँ विभाजन र विवादको कारण बन्ने गरेको गुनासो सुनिन्छ । तर त्यही परिवेशमा पदभन्दा ठूलो कुरा प्रतिबद्धता र निरन्तर सक्रियता हो भन्ने सन्देश दिनेश खड्काको पछिल्लो भूमिकाले दिएको छ ।
