न्युजिल्यान्ड नेपाल सोसाइटीले आगामी अप्रिल महिनामा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृति, परम्परा तथा संगीतलाई चिनाउने र न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यका साथ फेस्टिभल आयोजना गर्न लागिएको सोसाइटीका अध्यक्ष रोशन खड्काले जानकारी दिनुभयो।
फेस्टिभलमार्फत न्युजिल्यान्डमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति र परम्परासँग जोड्ने लक्ष्य लिइएको अध्यक्ष खड्काले बताउनुभयो। उहाँका अनुसार, “यो कार्यक्रमले नेपाली संस्कृति र जीवनशैलीलाई अन्तर्राष्ट्रिय समुदायसामु परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।”
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा संगीत प्रस्तुति, परम्परागत खानाका स्टल, हस्तकला प्रदर्शनी तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गर्ने तयारी गरिएको छ। यद्यपि, ती कार्यक्रमहरूबारे अन्तिम निर्णय भने भइसकेको छैन। समय अझै बाँकी रहेकाले थप छलफल र परामर्शपछि फेस्टिभलमा समावेश हुने कार्यक्रमहरू टुंगो लगाइने सोसाइटीले जनाएको छ।
फेस्टिभलमा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, अकल्यान्ड मेयर, सांसदहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। “फेस्टिभलमा न्युजिल्यान्डका प्रधानमन्त्रीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छौँ, हेरौँ कस्तो हुन्छ,” अध्यक्ष खड्काले भन्नुभयो। साथै, नेपाल सरकारको तर्फबाट अष्ट्रेलिया तथा न्युजिल्यान्डका लागि नेपाली राजदूतलाई पनि कार्यक्रममा सहभागी गराउने प्रयास रहने उहाँले जानकारी दिनुभयो।
फेस्टिभल आयोजना हुने महिना तय भए पनि मिति भने तय भइसकेको छैन। तथापि, सोसाइटीको आन्तरिक बैठकमा अप्रिलको दोस्रो सातामा फेस्टिभल आयोजना गर्नेबारे छलफल भइरहेको बताइएको छ।
यसैबीच, न्युजिल्यान्ड नेपाल सोसाइटीले कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रायोजक तथा साझेदार संस्थाहरूलाई सहकार्यका लागि हार्दिक आह्वान गरेको छ। आयोजकले सबै नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति र परम्पराको उत्सव मनाउन आग्रह गरेको छ।
