यसै हप्ताको अन्त्यमा अकल्यान्डमा आयोजना हुन लागेको तेन्जिङ हिलारी कप (टीएचसी) २०२६ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ। प्रतियोगिता आगामी शनिबार र आइतबार अर्थात् फेब्रुअरी ७ र ८ तारिखमा अकल्यान्डको टेआटाटु साउथस्थित म्याक्लियोड पार्कमा हुँदैछ।

आयोजक समितिले ‘हिमालपारी’लाई उपलब्ध गराएको जानकारीअनुसार खेलाडी, प्रतिनिधि, अतिथि तथा दर्शकहरूलाई स्वागत गर्ने बाहेक सबै खाले प्राविधिक, व्यवस्थापकीय र कार्यक्रमगत तयारी सकिएको छ। साथै प्रतियोगितालाई व्यवस्थित र उत्सवमय बनाउन मैदान व्यवस्थापन, सुरक्षा, खेल तालिका तथा अन्य आवश्यक संयोजन पनि पूरा भइसकेको छ।

प्रतियोगिता आयोजक क्लब खुकुरीका अध्यक्ष अमित सापकोटाका अनुसार प्रतियोगितामा सहभागी टोली, खेलाडी र पाहुनाहरूका लागि आगामी शुक्रबार स्वागत कार्यक्रम आयोजना गरिएको छ। उहाँका अनुसार प्रतियोगिता केवल फुटबलमा सीमित नभई खेलसँगै मनोरञ्जनात्मक गतिविधिहरू समेटिएको बहुआयामिक उत्सवका रूपमा आयोजना गरिएको छ। यसबारे आगामी शुक्रबार साँझ थप सार्वजनिक गरिनेछ।

‘बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूहलाई लक्षित गरी विविध कार्यक्रम तय गरिएको छ,’ अध्यक्ष सापकोटाले भन्नुभयो। ‘प्रतियोगितास्थलमा नेपाली परिवारहरूले सञ्चालन गर्ने विभिन्न परिकारका स्टलहरू रहनेछन् भने अन्य व्यवसायीहरूले पनि आफ्ना उत्पादन तथा सेवाको प्रचार–प्रसारका लागि स्टल राख्नेछन्। यसले प्रतियोगितालाई खेलकुदसँगै पारिवारिक मेला र सामुदायिक भेटघाटको केन्द्र बनाउने अपेक्षा गरिएको छ।’

प्रतियोगितामा न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली र नेपालीभाषी समुदायले स्थापना गरेका १८ वटा फुटबल टिम सहभागी हुनेछन्। जसअन्तर्गत १२ ओपन लिग, ३ मास्टर्स र ३ किड्स टिम रहेका छन्। दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा करिब १,५०० खेलाडी, पदाधिकारी तथा समर्थक सहभागी हुने अनुमान गरिएको छ।

सन् २०१५ मा सुरु भएको तेन्जिङ हिलारी कप विश्वप्रसिद्ध पर्वतारोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको ऐतिहासिक साहसलाई सम्मान गर्दै स्थापना गरिएको प्रतियोगिता हो। हाल यो कप न्युजिल्यान्डमा रहेका नेपाली तथा नेपालीभाषी समुदायबीचको प्रमुख र प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ।