रास्वपाको सरकारलाई चेतावनी: “रवि लामिछाने र परिवर्तनका पक्षधरलाई नजरअन्दाज नगर्नुहोस्”
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारलाई कठोर चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अर्यालले पार्टी अध्यक्ष रवि लामिछाने, रास्वपा समर्थक तथा परिवर्तन चाहने जनताप्रति सरकार उदासीन देखिएको आरोप लगाउँदै यस्तो व्यवहार सह्य नहुने स्पष्ट गरे।
अर्यालका अनुसार रास्वपाले घोषित मितिमा निर्वाचन सम्पन्न गराउन सरकारलाई पूर्ण सहयोग गरिरहेको छ, तर सरकारले सोअनुसारका कदम नचालेको उनको आरोप छ। “सरकारले आफ्नो म्यान्डेटअनुसार निर्वाचनको वातावरण बनाउन ध्यान दिनुपर्ने” उल्लेख गर्दै उनले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणका लागि सबै राजनीतिक दललाई जिम्मेवार बन्नुपर्ने आग्रह गरे।
उहाँले चेतावनी दिँदै भने, “हामीले यो सरकारलाई चुनाव गराउन आवश्यक टेको दिएको छ। तर सरकारले रवि लामिछाने, रास्वपा वा परिवर्तनका पक्षधरमाथि नजरअन्दाज गर्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी अझ बलियो बन्छ। हामीलाई सडकमा आउन बाध्य पार्नू हुँदैन। सरकारलाई शंकाको सुविधा दिँदै शान्तिपूर्ण चेतावनी दिंदैछौं—समयमै निष्पक्ष रूपमा निर्वाचन गराउनुहोस्।”
अर्यालले विवेकशील पार्टीसँगको एकताले रास्वपा झनै सशक्त बनेको दाबी गर्दै आगामी चुनावमा पार्टी ठूलो शक्ति बन्न आफूहरूलाई कसैले रोक्न नसक्ने बताए।
