चार वर्षदेखि विभाजनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकीकृत भएको छ। संघमा उत्पन्न आन्तरिक विवाद समाधान गर्दै आईतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा औपचारिक रूपमा “एकता घोषणा” सम्पन्न भएको हो।
विभाजनपछि छुट्टाछुट्टै रूपमा क्रियाशील रहेका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा एकताको सम्झौतापत्रमा हस्ताक्षर गरे। सदस्यता वितरण सम्बन्धी विवादका कारण १०औँ महाधिवेशनपछि सुरु भएको मतभेदले संघ लामो समय दुई धारमा विभाजित रहँदै आएको थियो।
सम्झौताअनुसार १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित दुवै समितिलाई आधिकारिक मान्यता दिइनेछ। साथै, आगामी १२औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष केसी र अध्यक्ष श्रेष्ठको सह–अध्यक्षत्वमा एक संयुक्त स्टेयरिङ कमिटी गठन गरिने निर्णय भएको छ।
दुवै पक्षले अदालतमा हालिएका सबै मुद्दा फिर्ता लिने, सदस्यता वितरणका लागि समय थपिने तथा संस्थागत सुधार र पारदर्शितामा जोड दिने विषयमा पनि सहमति भएको छ।
एनआरएनए नेतृत्वका अनुसार यो एकता केवल संगठनात्मक संरचनाको पुनर्गठन मात्र नभई विश्वभरका नेपालीहरूको हित संरक्षण, लगानी प्रवर्द्धन तथा समुदायको साझा पहिचान बलियो बनाउन गरेको महत्वपूर्ण कदम हो।
