काठमाण्डौं । जोन सिम्पसन र जेरार्ड इरासमसको प्रभावशाली साझेदारीको दममा काठमाण्डौं गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा काठमाण्डौंले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो सिजनमा चौथो जित दर्ता गरेको हो।
पहिलो सिजनमा कर्णालीसँग नेट रनरेटमा पछि परेर प्लेअफ गुमाएको काठमाण्डौंले यसपटक भने छैटौँ खेलमै चौथो जित हात पारेर अन्तिम चरणको ढोका खोलेको छ। पाँचौँ खेलमा चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने झन् कठिन बनेको छ।
८६ रनको चौथो विकेट साझेदारी निर्णायक
कर्णालीले दिएको एक सय ५० रनको मध्यम लक्ष्य काठमाण्डौंले १८औँ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। काठमान्डुको जितमा सिम्पसन र इरासमसले चौथो विकेटका लागि बनाएको ८६ रनको साझेदारी महत्वपूर्ण रह्यो।
इरासमसले ३३ बलमा ४३ रन ९२ चौका, २ छक्का० योगदान दिए भने सिम्पसनले २१ बलमा ४१ रन ९४ चौका, २ छक्का० प्रहार गरे। १८औँ ओभरमा नन्दन यादवले सिम्पसनलाई आउट गरे पनि काठमान्डु लक्ष्यबाट एक मात्र रन टाढा थियो। त्यसपछि रासिद खान पहिलो बलमै आउट भए तर भीम सार्कीले एक छक्कासहित ६ रन जोडेर टोलीलाई जिताए।
आक्रामक सुरुवात, ओपनर चाल्र्सवर्थको योगदान
काठमान्डुले सुरुदेखि नै आक्रामक शैली अपनायो। पावरप्लेमा एक विकेट गुमाएर ४६ रन जोड्दै दबदबा बनायो। ओपनर आकाश त्रिपाठी ८ रनमा आउट भए भने बेन चाल्र्सवर्थले २१ बलमा ३४ रन ९२ चौका, ३ छक्का० प्रहार गर्दै बलियो सुरुवात दिलाए। मिलिन्द कुमार १५ रनमा रनआउट भए।
कर्णालीको खराब सुरुवात, गुलसनले सम्भाले इनिङ
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले प्रारम्भिक ओभरमै दुई विकेट गुमाएर खराब सुरुवात गर्यो। काठमान्डुका कप्तान करणले इनिङको पहिलो बलमै प्रियान्क पन्चाललाई कट एन्ड बोल्ड गरे। छैटौँ बलमा बोसिस्टो रनआउट हुँदा कर्णाली दबाबमा पर्यो।
तर मध्यम क्रममा आएका गुलसनले आक्रामक ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन ९६ चौका, ३ छक्का० जोडेर कर्णालीलाई सम्मानजनक स्कोर बनाइदिए। पवन सर्राफले ३५ रनका साथ साथ दिएका थिए।
कर्णालीले सात विकेट गुमाउँदै १ सय ४९ रन बनायो। तर बलिङतर्फ सात बलर प्रयोग गर्दा पनि लक्ष्य रक्षा गर्न सकेन। नन्दन यादवले तीन विकेट र पवन सर्राफले एक विकेट लिए।
काठमान्डुको बलिङमा रासिद उत्कृष्ट
काठमाण्डौंको बलिङतर्फ रासिद खानले दुई विकेट झारे। कप्तान करण, मिलिन्द कुमार र सन्तोष यादवले समान एक–एक विकेट लिए। यस जितसँगै काठमाण्डौं गोर्खाज प्लेअफनजिक पुगेको छ भने कर्णाली याक्सको यात्रा अब कठिन मोडमा प्रवेश गरेको छ। न्युज एजेन्सी नेपालको सहयोगमा
