काठमाडौं । ठमेलस्थित पकनाजोलमा ‘चिलपिल जोन’ रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ । बुधबार आयोजित एक कार्यक्रममा रेष्टुरेण्टको औपचारिक उद्घाटन गरिएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको सामूहिक लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो । नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको सहकार्यमा सञ्चालित वारिस्ता तालिममा सहभागी भएपछि उनीहरूले सामूहिक लगानीमार्फत व्यवसाय सुरु गरेका हुन् ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको तालिममा २४ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरू सहभागी भएका थिए । रेष्टुरेण्ट सञ्चालक सुरेन्द्र पाण्डेले यौनिक तथा अल्पसंख्यक नागरिकलाई होटल व्यवसाय सञ्चालनका लागि पर्यटन बोर्डले सहयोग गरेको बताए । तालिमले रोजगारीविहीन व्यक्तिहरूलाई होटल तथा पर्यटन क्षेत्रमा प्रवेश गर्न सहयोग पुगेको उनको भनाइ छ ।
बोर्डबाट प्राप्त तालिमकै आधारमा पाँच जनाले मिलेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको पाण्डेले जानकारी दिए । रेष्टुरेण्टमा हाल तीन जनालाई रोजगारी प्रदान गरिएको छ । ‘यहाँ करिब ३० जना बस्न मिल्ने व्यवस्था गरिएको छ,’ उनले भने ।
वारिस्ता तालिम लिएकी बाबुथुमी राईले तालिमपछि केही समय के गर्ने भन्नेमा अन्योल रहे पनि साथीहरूसँग मिलेर रेष्टुरेण्ट सञ्चालन गर्ने निर्णय गरेको बताइन् । अन्य स्थानमा रोजगारी पाउन सहज नभएको उल्लेख गर्दै उनले यौन व्यवसायमा संलग्न हुन नचाहेकै कारण वारिस्ता तालिम लिएको जानकारी दिइन् ।
