वेलिङ्टन । न्युजिल्याण्ड सरकारले ‘फिस-फ्री’ नीति अन्त्य गर्ने र विश्वविद्यालय शुल्क लगातार तेस्रो वर्ष पनि ६ प्रतिशतसम्म बढाउन दिने निर्णय गरेपछि विद्यार्थीहरूले संसद् भवनअगाडि प्रदर्शन गरेका छन् ।

सरकारको नयाँ बजेट सार्वजनिक भएपछि वेलिङ्टनमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन् ।

भिक्टोरिया विश्वविद्यालय विद्यार्थी संघका अध्यक्ष एडन डोनोह्युले सरकारको निर्णयले विद्यार्थीमाथि दोहोरो आर्थिक भार परेको बताएका छन् । उनले अध्ययन सुरु गर्दा एक वर्षको शुल्क छुट पाइने विश्वास दिलाइए पनि अहिले त्यो सुविधा हटाइएको भन्दै असन्तुष्टि जनाए । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले शिक्षा क्षेत्रमा थप ऋणको भार बढ्ने र विद्यार्थीहरूलाई अध्ययन गर्न झन् कठिन हुने बताएका छन् ।

सरकारले ‘फिस-फ्री’ नीति हटाउँदा आगामी चार वर्षमा करिब १ अर्ब डलर बचत हुने जनाएको छ । बचत भएको केही रकम विद्यालय शिक्षा तथा प्राविधिक तालिम कार्यक्रममा खर्च गरिने सरकारको भनाइ छ । यद्यपि शिक्षक संगठन तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूले सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी नगरेको आरोप लगाएका छन् । Photo: RNZ