वेलिङ्टन । न्युजिल्याण्ड सरकारले विदेशी लगानीसम्बन्धी कर नियम (एफआईएफ) मा महत्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार विदेशमा शेयर, ईटीएफ वा फन्डमा लगानी गर्दा लाग्ने करको सीमा ५० हजार डलरबाट बढाएर १ लाख डलर पुर्याइने भएको छ ।
यस परिवर्तनले विशेषगरी विदेशमा लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ । अहिलेको व्यवस्थामा ५० हजार डलरभन्दा बढी विदेशी लगानीमा वार्षिक रूपमा कर लाग्ने व्यवस्था रहेको थियो ।
कर विशेषज्ञहरूका अनुसार नयाँ सीमाले धेरै न्युजिल्याण्डवासीलाई सिधै अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न प्रोत्साहन गर्नेछ । यससँगै सरकारले सवारीसाधनमा लाग्ने ‘फ्रिन्ज बेनिफिट ट्याक्स’ (एफबीटी) नियममा पनि सुधार गर्ने तयारी गरेको छ । नयाँ नियमअनुसार अब गाडीको प्रकारभन्दा पनि कसरी प्रयोग गरिएको छ भन्ने आधारमा कर निर्धारण गरिनेछ ।
विशेषज्ञहरूले यसले विद्युतीय सवारीसाधन (ईभी) प्रयोगलाई प्रोत्साहन गर्ने र व्यवसायिक क्षेत्रको कर प्रक्रिया सरल बनाउने बताएका छन् । सरकारको भनाइअनुसार यी परिवर्तनले कर प्रणालीलाई थप व्यवहारिक, सरल र लगानीमैत्री बनाउने उद्देश्य राखेको छ ।
