आगामी दुई वर्षभित्र १० लाखभन्दा बढी राहदानी नवीकरण हुन बाँकी रहेकाले न्यू जिल्यान्डकी आन्तरिक मामिला मन्त्री ब्रुक भान भेल्डेनले यस विषयमा सबैलाई सचेत रहन आग्रह गरेकी छन् ।
आन्तरिक मामिला विभागका अनुसार १० वर्षे राहदानीको पहिलो चरण म्याद सकिन लागेकाले आवेदनको संख्या एकाएक बढ्ने अपेक्षा गरिएको छ । सन् २०१५ को अन्त्यतिर राहदानीको वैधता अवधि पाँच वर्षबाट १० वर्ष बनाइएको थियो । त्यसैले २०१५ र २०१६ मा नवीकरण गरिएका राहदानीहरूको म्याद आगामी दुई वर्षभित्र सकिँदैछ ।

“१० वर्षे राहदानी सुरु भएको वार्षिकोत्सवका कारण आवेदनको चाप बढ्ने पूर्वानुमान गरिएको छ । तपाईंलाई आवश्यक पर्नुअघि नै आफ्नो राहदानी अद्यावधिक छ कि छैन, अवश्य जाँच गर्न आग्रह गर्छु,” भान भेल्डेनले भनिन् भनी रेडियो न्यूजिल्यान्डले समाचार छापेको छ ।
आगामी दुई वर्षभित्र करिब १३ लाख राहदानीको म्याद सकिन लागेको छ । सन् २०२६ मा करिब ६ लाख २२ हजार र सन् २०२७ मा करिब ७ लाख ५९ हजार आवेदन पर्ने अनुमान गरिएको छ ।
भान भेल्डेनले राहदानी प्रक्रिया समय निकै सुधारिएको बताइन् । सन् २०२३ मा २५ दिन लाग्ने प्रक्रिया अहिले तीन दिनमै सकिने गरेको उनले भनिन् । तर आवेदनको ठूलो संख्याका कारण ढिलाइ हुन सक्ने चेतावनी पनि दिइन् ।
“न्यू जिल्यान्डवासीहरूले उत्कृष्ट सेवा पाउने अपेक्षा गर्नु स्वाभाविक हो, र हाम्रो राहदानी टोलीले त्यो उपलब्ध गराएकोमा म गर्व गर्छु । यदि तपाईंको राहदानी २०२६ मा म्याद सकिँदैछ भने भीड बढ्नुअघि नै नवीकरण गर्नुहोस् । म्याद सकिएको राहदानीले तपाईंको यात्रा अवरुद्ध नहोस्,” उनले भनिन् ।
