अमेरिका, अमेरिकाको नर्थ क्यारोलाइनाको राले नजिकै पर्ने होलिस्प्रिंगमा पहिलो पटक नेपाली समुदायले नेपालको झण्डा, विभिन्न बाजा र लाखेसहित परेड गरेका छन् ।

परेडमा नर्थ क्यारोलाइनामा बसोबास गरिरहेका नेपालीहरुले सहभागिता जनाएका थिए । परेडमा नेपालीहरूले मादल, गीत, नृत्य र लाखे नाच प्रस्तुत गरेका थिए।

परेडमा करिब एक सय नेपाली सहभागी थिए। मादलको तालमा नृत्य गर्दै नेपाली सांस्कृतिक रंग र सौन्दर्य सडकभरि उपस्थित हजारौं स्थानीयले मन पराए। सहभागीमध्ये पुरुषहरूले दौरा–सुरुवाल र महिलाहरूले साडी–चोलो लगाएका थिए। परेड करिब दुई किलोमिटर लामो पैदल यात्रा रहेको थियो।

एनसीएनसीका अध्यक्ष विकास शाक्यले भने, “पहिलो पटकको सहभागितामा अलिकति नेपाली मात्र उपस्थित भए पनि, अबदेखि हामी नियमित रुपमा भाग लिने योजना बनाइरहेका छौं।”

परेडमा नेपाली समुदायसँगै स्थानीय ८२ वटा संघ–संस्था, विद्यालय, अस्पताल, चर्च, सवारी साधन र नृत्यशालाहरूले पनि सहभागिता जनाएका थिए। होलिस्प्रिंग टाउनले सहभागी सबैलाई धन्यवाद दिएको छ।

परेडमा उपस्थित स्थानीय बासिन्दा क्यारोलले भनिन्, “यो परेड साँच्चिकै भव्य भयो र यहाँका बासिन्दाले नेपाली समुदायप्रति देखाएको माया र सद्भावनाप्रति धन्यवाद दिन चाहन्छु।”