डडेल्धुरा — अमरगढी नगरपालिका–७, पोखराको कैनी टोलमा बसोबास गर्ने ५६ वर्षीय एक हस्तकर्मी जीवनका अधिकांश वर्ष बाँस र निगालोका चोया केलाउँदै बिताएका छन् । उमेर बढेसँगै शरीर थाक्दै गएको छ, जोसजाँगर पनि पहिले जस्तो छैन । तर, जीवन धान्ने अर्को विकल्प नहुँदा उनी आज पनि डोको, सुप्पो, भकारी, टोकरी, नाङ्लोजस्ता परम्परागत सामग्री बुन्नमै व्यस्त छन् ।
बाउबाजेदेखि पुस्तौँसम्म हस्तान्तरण हुँदै आएको यही सीप उनको परिवारको मुख्य पेसा हो । उनी १६ वर्षको हुँदा बुवाबाट बाँस र निगालोको चोयाबाट डोको, सुपो, टोकरी, नाङ्लो, छाप्रा र भकारी बनाउन सिकेका थिए । त्यतिबेला गाउँमा यस्ता सामग्री बनाउने धेरै थिए र घरायसी कामदेखि खेतीपातीसम्म यसको प्रयोग अनिवार्यजस्तै मानिन्थ्यो । तर, समय र बजार फेरिए पनि आफूजस्ता हस्तकर्मीको अवस्था भने फेरिन नसकेको उनी बताउँछन् ।
सानैदेखि सिकेको यो सीपले कहिल्यै राम्रो बजार मूल्य नपाएको उनको अनुभव छ । काम निकै मिहिनेतिलो भए पनि आम्दानी अत्यन्त न्यून छ । “आम्दानी मात्रै हेरेको भए यो काम उहिल्यै छोडिसकेको हुन्थेँ,” उनी भन्छन्, “तर जिन्दगीले जता धकेल्यो, उतै बाँच्न सिकियो ।”
आजभन्दा करिब ४० वर्षअघि निगालो र बाँस सहजै पाइन्थ्यो । महाभारत क्षेत्रको ‘तेले लेक’ बाट निगालो काटेर ल्याइन्थ्यो । जंगल खुला थिए, कच्चा पदार्थको अभाव थिएन । तर, अहिले कच्चा पदार्थ जुटाउनै गाह्रो भएको छ । एक डोको बनाउन १५ देखि २० वटा निगालो आवश्यक पर्छ । दिनमा बढीमा दुईवटा मात्र डोको बुन्न सकिन्छ । काम सजिलो देखिए पनि यसमा धैर्य चाहिन्छ । हात दुख्छ, आँखा थाक्छ, तर पनि काम रोकिँदैन ।
उनी तयार गरेका डोको स्थानीय पोखरा बजारमा लगेर प्रतिवटा तीन सय रुपैयाँमा बिक्री गर्छन् । गाउँ–गाउँ डुल्न पाए पाँच सय रुपैयाँसम्म पाइने सम्भावना हुन्छ । कहिलेकाहीँ १०–१५ वटा डोको पिठ्युँमा बोकेर हिँड्नुपर्छ, तर सबै बिक्दैनन् । दिनभरको मिहिनेतपछि हातमा आउने पैसा नुनतेल खर्च धान्न पुगे पनि त्यसैलाई ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ ।
उनको सात जनाको परिवार छ — श्रीमती, तीन छोरी र दुई छोरा । आम्दानी अनिश्चित भएकाले साँझ–बिहानको हातमुख जोड्नै धौ–धौ हुन्छ । बजारबाट गहुँ र चामल उधारो ल्याएर दुई–तीन महिनापछि कहीँबाट पैसाको जोहो गरेर पसलको उधारो तिर्ने गरेको उनी सुनाउँछन् । गाउँकै पसल भएकाले उधारो लिन सजिलो भए पनि नियमित आम्दानीको कुनै ठेगान छैन । हरेक दिन डोको–सुपो बन्ने अवस्था पनि हुँदैन ।
पढाइका नाममा उनले कक्षा १० सम्म अध्ययन गरेका छन् । पढाइ सकेर राम्रो काम पाउने आशा थियो, तर पढाइ नै पूरा गर्न नसक्दा परम्परागत सीपमै निर्भर हुनुपर्यो । पछिल्लो पुस्ता भने यो पेसाप्रति आकर्षित छैन । उनका आफ्नै छोराहरू पनि यो काम सिक्न इच्छुक छैनन् । “उनीहरूलाई दोष दिन्नँ,” उनी भन्छन्, “किनकि यो काममा मैले पनि भविष्य देख्दिनँ ।”
अमरगढी नगरपालिकाले एकपटक सीप प्रवर्द्धन र हस्तान्तरणका लागि तालिम कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा उनी स्वयं प्रशिक्षक बनेका थिए । नयाँ पुस्तालाई आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको उनी बताउँछन् । तर, तालिममा सहभागीको आकर्षण न्यून हुँदा कार्यक्रम निरन्तर हुन सकेन । यसले परम्परागत बाँस–निगालोको सीप लोप हुने अवस्थामा पुगेको यथार्थ अझ स्पष्ट भएको उनको भनाइ छ ।
आजको बजार डोको र सुपोको होइन । प्लास्टिक, फलाम र आधुनिक सामग्रीले ठाउँ लिइसकेका छन् । गमला, कुर्सी, टेबल, मुडा जस्ता आधुनिक डिजाइनका सामग्री बनाउन सके केही हदसम्म बजार पाउने सम्भावना देखिन्छ । तर, त्यसका लागि नयाँ डिजाइन, तालिम र लगानी आवश्यक छ । सम्भावना देखिए पनि व्यवहारमा उतार्न नसकिएको उनी बताउँछन् ।
बजार अभाव, न्यून आम्दानी र आधुनिकताबीच परम्परागत हस्तकला संकटमा पर्दै गएको छ । उचित तालिम, प्रवर्द्धन र बजार व्यवस्थापन नहुँदा पुस्तौँदेखि जोगिँदै आएको बाँस–निगालोको सीप लोप हुने जोखिम बढ्दै गएको स्थानीय हस्तकर्मीहरूको गुनासो छ ।
प्रस्तुति: तर्कराज भट्ट, कान्तिपुर
